गोकुलेश्वर । बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आइटी अफिसर) रमेश कार्किले स्थानीय रामचन्द्र जोशीमाथि लछारपछार गर्दै मुक्का हिर्काएका छन् । नगरपालिकाको भ्रष्टाचार विरूद्व बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका हुन् ।
रामचन्द्रले बुधबार दिउँसो कार्यालय समयमा समेत नगरपालिकामा कोही कर्मचारी नभएको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए । सोही भिडियो किन राखेको भन्दै कार्कीले आफूलाई आक्रमण गरेको जोशीले बताए ।

कार्किको हातपातले उनको छाति र औंलामा चोट लागेको छ । अहिले उनीमाथि आक्रमण भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । राजनीतिक पहुँचकै भरमा कार्की नगरपालिकाको सूचना तथा प्रविधि शाखाको प्रमुखमा नियुक्त भएका थिए । उनको योग्यताको विषयमा समेत बेला– बेलामा स्थानीयहरूले प्रश्न उठाउने गरेका थिए । तर, मेयरदेखि अन्य राजनीति नेतासँग बलियो पहुँच बनाएका उनीमाथि कसैले पनि छानबिन गरेन् ।
स्थानीय तहले दरबन्दी सिर्जना गरेर करार कर्मचारी राख्न नपाउने कानुनी व्यवस्था छ । तर, नगरपालिकामा हाल सयभन्दा बढी करार कर्मचारी छन् । नगरपालिकाले रिक्त दरबन्दीमा स्थायी पदपूर्तिको लागि लोकसेवा आयोगलाई कोटा पठाउन छोडेर जागिर खुवाउनकै लागि कार्की जस्तै कयौं करार कर्मचारी भर्ति गरेर पालिरहेको छ ।
महालेखा परीक्षकको कार्यालयले यसअघि पनि करार कर्मचारी राखेकोमा प्रश्न उठाउँदै आएको छ । यस्ता कर्माचारी पाल्नकै लागि वार्षिक नगरपालिकाको डेढ करोडसम्म खर्चहुने गरेको महालेखाले औंल्याएको छ ।
बुधबार रामचन्द्रले खिचेको कार्यालको भिडियोमा कोही पनि कर्मचारी र जनप्रतिनिधि अफिसमा देखिदैनन् । कार्यालय समयमै एकजना पनि कर्मचारी नभेटेपछि नगरपालिकाको सेवा प्रवाह र जनप्रतिनिधिको भूमिकामै प्रश्न उठेको छ ।



