गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर बजारका विभिन्न पसलबाट म्याद नाघेका मदिराजन्य पदार्थ (बियर) सहित अन्य केही फुटकर सामग्री जफत गरी नष्ट गरिएको छ।

घरेलु तथा साना उद्योग कार्यालय, दार्चुलाले हिजो (असोज १२ गते) बजार अनुगमनका क्रममा विभिन्न पसलबाट ठूलो मात्रामा म्याद गुज्रिएका बियर तथा अन्य केही सामग्री जफत गरेको हो।
म्याद नाघेका मदिराजन्य पदार्थ तथा उपभोगका लागि अनुपयुक्त देखिएका अन्य सामग्री उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै जफत गरी नष्ट गरिएको जनाइएको छ।
बजारमा बिक्री वितरण भइरहेका उपभोग्य वस्तुको गुणस्तर, म्याद तथा उपभोक्ता हितको संरक्षणका लागि सम्बन्धित निकायले नियमित बजार अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।



