गोकुलेश्वर। दार्चुलाको महाकाली नगरपालिकाले आफै कोरोना भाइरस विरूद्धको खोप खरिद गर्ने भएको छ ।
महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले नगरबासीका लागि नगरपालिका आफैले खोप खरिद गर्ने बताए। विकासे बजेट खर्च काटेर पनि नगरबासीको ज्यान जोगाउन नगरपालिका आफैले खोप खरिद गर्ने उनले बताए।

विकासे खर्च काटेर पनि जनताको ज्यानको रक्षा गर्छौ, नगर प्रमुख भट्टले भने। नगरबासीलाई खोप उपलब्ध गराउन नगरपालिकाले आफै खोप खरिद र त्यसका लागि सरकारलाई अनुमतिको माग गरेको छ । शनिवार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । महाकाली नगरपालिकाको कूल जनसंख्या २४ हजार ४ सय ८४ रहेको छ । जसमा १८ वर्षमुनिका ७ हजार ३ सय १३, १८ वर्षदेखि ५५ वर्षसम्मका १३ हजार ९ सय ७९ र ५५ वर्षमाथिको जनसंख्या ३ हजार १ सय ९२ रहेको छ । जसमध्ये २ हजार २० जनाले खोप पाइसकेका छन् । खोप लगाउन बाँकी १५ हजार १ सय ७१ जनाको लागि खोपको व्यवस्था पर्न माग गरिएको छ ।
प्रति व्यक्ति खोपको लागि हुन आउने सम्पूर्ण रकम नगरपालिकाले तिर्ने गरी खोप उपलब्ध गराउन वा नगरपालिकालाई खोप खरिद गर्न अनुमति दिन नेपाल सरकारलाई पत्राचार गरिएको नगरप्रमुख भट्टले बताए ।
विकासे खर्च काटेर पनि नगरबासीको ज्यान जोगाउन नगरपालिका अग्रसर रहेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ लागि शनिवार सार्वजनिक गरिएको बजेट भाषणमा सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।



