- बबिता भूजेल
आज उठ्न अलि ढिला भएछ, भान्साबाट भाँडाकुँडा बजेको आवाजले मेरो निद्रा खुल्यो । म भन्दा अगाडि सासुआमा उठिसक्नुभएछ ।
यी छरपस्ट छरिएका कपाललाई जुरो बाँधेर कोठा बाट बाहिर निस्किएँ, मलाई देख्दा नदेख्दा सासुआमाको प्रवचन सुरु भईसकेको थियोे, म नसुने झैँ गरेर गाग्री टिपेर पधेँरा तिर लागे, हतारहतार हातगोडा मुख धुएर पानी भरिनासाथ घर तिर दौडीएँ, डराउँदै घर भित्र छिरेँ, सोचेँ अघि नै भाँडाकुँडा ठटाएको आवाज आउँथ्यो सायद आज चिया सासुआमाले नै पकाई सक्नुभयो, तर हैन् रहेछ ।
म चिया बसाएर घर बढार्न थाले लगत्तै ससुरा बुवाको आवाज आउँछ, हैन यो घरकी बुहारीलाई उज्यालो भएको थाहा भएन कसो? अहिले सम्म चिया पनि पाक्दैन त? सँगसँगै देवर बाबू कोठा बाटै बोल्नु हुन्छ, भाउजू मेरो कपडा धोएर कहाँ राखिदिनुभयो ?
नन्द नानी उठेर आङ तान्दै भान्सा तिर हेर्दै मलाई आँखा तर्छिन्, सायद चिया पाक्न ढिलो भयो ।
घर बढारी सकेर चिया कपमा राखेर सबैलाई आ-आफू बसेको ठाउँमा पु¥याउन जान्छु ।
श्रीमान उठ्ने अत्तोपत्तो छैन । दिउँसै रक्सी पिएर रातभरि बमिट गरिएको कपडा बिछ्याउना सम्झिएर घिन लाग्न थाल्यो । बिहानी काम सकेर खाना बनाउन थाले ।
यति ठूलो परिवार छ, सबैको चेहरामा खुसी झल्किन्छ,आनन्द छ । मलाई मात्रै दुःख जिम्मेवारी किन बढेको होला ?
हिजो माइतिघरमा खाना बनाउन त के चिया पनि बनाउन नजान्ने म, आज पराई घरमा कसरी यति धेरै कर्तव्यबोधको बोझ भारी उठाउन साहस गर्दैछ ?
आफूले आफैंलाई सम्झिएर आँखा रसाउन थालिसकेछ ।
१५-१६ बर्षे सानो उमेर, ठूलो पारिवारिक बोझ, कुरा नबुझ्ने श्रीमान, ओहो !
जिन्दगी पुरै नर्क तिर धकेलिदै छ । कसरी सामना गरौँला बाँकी कहाँलीलाग्दो दिनहरु…
माइती नगएको पनि धेरै महिना भईसकेछ, तिज आउँदैछ । सायद मलाई लिन दाइ आउनुहुन्छ होला । त्यसपछि माइती गएर आमाको काखमा पल्टिएर धित मरुन्जेल रुनु छ ।
यति सपना देखि रहँदा बाहिर निस्किएर माइती गाउँतिरै हेर्न पुगेँ । खासै टाढा थिएन जन्म घर र कर्म घरको दूरी । स्पष्ट जन्म गाउँ देखिन्थ्यो, हेर्दाहेर्दै आमासँग बोल्न मन लाग्यो ।
केही महिना अघि सँगै पढ्ने साथीले फोन गरेको निहुँमा श्रीमानले मोबाइल फुटाईदिनु भएको थियोे । कहिलेकाहीँ उहाँकै मोबाइलबाट आमासँग कुरा गर्थे ।
आज राति पिटाई खाएको छुँ, खासै अनुहार हेर्न मन लागेको छैन, मोबाइल लिने हिम्मत पनि गरिनँ ।
थाहा छैन भाग्य कस्तो लेखिएको छ, जब अगाडि बढ्न खोज्छु तब पाईलै पिच्छे ठेस लागेर निधार पत्थरमा ठोकिन पुग्छ ।

यसै त दु:खी मान्छे ,अझै भाग्यले मलाई किन ठगेको होला ?
विवाह भएको केही दिन देखि नै पारिवारिक शोषण मै माथि बज्रिरहेको छ, एक खोक्रो जिन्दगी बोकेर यति लामो यात्रा कसरी तय गरौंला ? गन्तव्य कहाँ हो त्यो पनि थाहा छैन ।
दुई दिन पछि तिज आउँछ,गाउँघरमा छोरीचेली आउने क्रम बढ्दो छ, घरमा पनि पराई घर गएकी एउटा नन्दलाई लिन देवरबाबु गईसक्नुभएको छ ।
मलाई पनि लिनको लागि दाइ आउनु भएको छ । आज त म पनि सानो स्वर्ग । मेरो जन्मघर पुग्छु, केही दिन भएपनि आँखामा आँसु रोकिनेछन् । सोचेर पनि मन फुरुङ्ग भयो ।
केही समय पछि दाईको साथ लागेर घर बाहिर निस्किन्छु । सासुआमाको कडा स्वर सुनिन्छ,“तिज सकिना साथ आईहालेस् नि ।“ कति काम छ घरमा थाहै होला ?
अब म पनि रक्सी पिउन सुरु गर्छु, उहाँभन्दा धेरै पिउने गर्छु, रक्सी पिएर उहाँलाई पिट्न हैन, उहाँको पिटाई सहजै सहन सकौँ भनेर हो ।
लगत्तै श्रीमानले पनि कुरा थप्नु हुन्छ, नआए त के हालत हुन्छ थाहै होला? म दुबैजनाको कुरा शिरोपण गर्दै हुन्छ भन्ने ईसारमा मुन्टो हल्लाउँदै बाटो लाग्छु ।
अलि पर पुगेपछि दाइबोल्नु हुन्छ, बैनि, घरमा तँलाई राम्रो गर्दैनन्, धेरै प्रेस छ क्या हो? दाइलाई सबै कुरा सुनाउन मन लागेन, हैन ठिकै छ भनेर टारेँ ।
केही समयपछि माईती घर पुगिन्छ। मलाई देख्ना साथ आमाको मुहारमा छुट्टै चमक देखिन्थ्यो। साँझपख आमा खाना बनाउन थाल्नुभयो । म पनि छेउमै बसेर आमा सँगै गनथन गर्न थालेँ ।
आमा ! साँच्चै रक्सी को स्वाद कस्तो हुन्छ? मेरो कुरा सकिन नपाउँदै आमाको जवाफ आउँछ, तँलाई किन चाहियो त नानी ?
जस्तो भएपनि के मतलब त ? त्यतिबेला सम्म मेरो आँखामा आँसु भरिसकेको हुन्छ । हत्तपत्त हातले कपाल मिलाए जस्तो गर्दै आँसु पुछेर फेरि प्रश्न गर्छु । आमा ! कुरा स्वाद सँगै शक्तिको पनि हो के, तपाईंलाई कसरी भनौं ? थाहा छ भने यति भन्नुन रक्सी खाएपछि कति बल आउँछ ?
फेरि गलत नसम्झिनु है, मेरो सासू आमाले भन्नू भएको आफ्नी छोरीलाई संस्कार सिकाउने काम, हरेक कुरा बुझाउने काम आमाको हुन्छ अरे नि त !
मेरो कुरालाई अलि बढी चासो दिएर आमा नजिकै आउनुहुन्छ ।
किन छोरी तँ तेरो घरमा खुसी छैनस् र? अनि किन रक्सीको स्वाद र शक्तिको कुरा गर्दैछेस् ।
आमाको हरेक शब्दले मेरो मुटु छुन्छ, मलाई बिहे अघि यति कुरा किन सोध्नु भएन त कि तँ त्यो केटा सँग राजिखुसी बिहे गर्न सक्छेस् भनेर ?
मनलाई बलियो पारेर आमाको प्रश्नमा उत्तर मिलाउछु ।
आमा, किन रक्सीको स्वाद शक्ति सोधेको भने नि, हजुरको ज्वाँईले जब रक्सी पिउनु हुन्छ तब मलाई सहन नसक्ने गरि पिट्नु हुन्छ, सायद रक्सीमा धेरै शक्ति लुकेको हुँदो हो ।
अब म पनि रक्सी पिउन सुरु गर्छु, उहाँभन्दा धेरै पिउने गर्छु, रक्सी पिएर उहाँलाई पिट्न हैन, उहाँको पिटाई सहजै सहन सकौँ भनेर हो ।



