पाँचौँ पटक प्रधानमन्त्री बन्दै देउवा , दार्चुलाका नेता बडूको नाम पनि मन्त्री बन्ने चर्चामा
आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने
गोकुलेश्वर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्री बन्दैछन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन लागेका हुन् ।
सर्वोच्च अदालतको परमादेशअनुसार उनी आज अपराह्न ५ बजेभित्र प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति कार्यालयले सपथका लागि खबर गरिसकेकाले आजै ५ बजे सपथ ग्रहरणको तयारी भएको कांग्रेस नेताहरुले जनाएका छन् ।
यसअघि देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलोपटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए । त्यसको पाँच वर्षपछि उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा दुई पटक प्रधानमन्त्री भए । देउवाको दोस्रो पटक २०५८ साउन देखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री भएका थिए ।
तर तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई हटाएर ०५९ असोज १८ मा शासन सत्ता आफ्नो हात लिएका थिए । लगत्तै आन्दोलन भएपछि देउवालाई ०६१ साल जेठ २१ मा तेस्रो पटक प्रधानमन्त्री भए । तर उनको कार्यकाल ८ महिनाभन्दा बढी हुन सकेन । देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले माघ १९ मा आफैँ देशको शासन सत्ता हातमा लिए ।
०६१ सालपछि करिव १३ वर्ष देउवा प्रधानमन्त्री भएनन् । उनी २०७४ साल जेठ २३ मा माओवादी केन्द्रको समेत साथ पाएर प्रधानमन्त्री बने । आफैँले गराएको चुनावमा नेपाली कांग्रेस हारेपछि चर्को आलोचना खेपेका देउवा अहिले अर्को चुनाव नआउँदै प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्री नियुक्त भएपछि उनले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनेछ र देउवाले नै फेरि अर्को चुनाव गराउनेछन् ।
आजै सानो आकारको मन्त्रिपरिषद्
देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउने तयारी गरेका छन् । आज कांग्रेस र माओवादी केन्द्रका केही नेतालाई मन्त्री बनाउने गृहकार्य भएको छ । यसको निर्णय सपथग्रहण अघि नै गठबन्धनको बैठक बसेर हुनेछ ।
कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ । गृहजिल्ला दार्चुला भएका नेपाली काग्रेशका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू यसअघि राज्य मन्त्री बनेपनि अहिलेसम्म क्याबिनेटमा फुल मन्त्री बनेका छैनन् ।
नेता बडूकै निर्वाचन क्षेत्र दार्चुलाबाट निर्वाचित नेकपा एमालेका नेता गणेशसिंह ठगुन्ना केपी सर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेकाले पनि बडूलाई मन्त्री बनाउनुपर्ने उनकै निकट नेता, कार्यकर्ताहरुको दवाव रहेको छ ।
जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव खेमा भने साउन ७ पछि मात्रै सहभागी हुने भएको छ । जसपाको विवादबारे सर्वोच्च अदालतले साउन ३ मा निर्णय दिने सम्भावना रहेकाले त्यसकै आधारमा अघि बढ्ने तयारी सो समूहले गरेको छ ।
गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुने वा नहुने भन्नेमा अनिर्णित छ । एमालेको नेपाल-खनाल समूहका नेता माधव कुमार नेपालले भने परिस्थितिमा बदलाव आएकाले आफू अब गठबन्धनमा पनि नरहने जनाएका छन् । यद्यपि उनले एमालेलाई पनि समेटर संयुक्त सरकार बनाउन देउवालाई सुझाव दिएको जनाइएको छ ।



