- जीवन प्रसाद अवस्थी। धनगढी
सर्वप्रथम ‘ध्यान’ के हो, ‘ध्यान’ कस्तो हुन्छ? कस्ता व्यक्तिहरुले ‘ध्यान’ गर्न जरुरी छ? यी बारेमा म छोटो जानकारी यस लेख मार्फत गराउन चाहन्छु।
वास्तवमा ‘ध्यान’ के हो त ?
‘ध्यान’ भनेको मनलाई एकाग्र बनाई सकारात्मक सोच र चिन्तन विकास गर्ने, साक्षी भाव प्रकट गराउने कला हो । मनको तहलाई अध्ययनगरि सकारात्मक चिन्तनको विकास गराउने एउटा अदभूत साधन तथा उपचार हो, जुन सामान्य मानिसलाई दिर्घकालिन मानसिक स्वास्थको लागि अत्त्यन्त उपयोगी हुन्छ।
यसलाई अझ सरल रुपमा बुझ्दा ध्यान त्यो माध्यम हो, जसले तपाइलाई अग्रसर गराउने, अनुशासनमा बस्न प्रेरित गर्ने काम गर्छ। जसरी एउटा गाडीलाई अध्यारोमा उसको उसकै हेडलाइटले मार्गदर्शन गर्ने काम गर्छ त्यसरी नै ध्यान गर्ने बानीले जीवनको धेरै कठिनाई लाइ सहजै समाधान गर्न मार्गदर्शन गर्छ।
ध्यान कस्तो हुन्छ?

ध्यान कस्तो हुन्छ भन्ने उत्तर विभिन्न कोणबाट दिन सकिन्छ। कस्तो हुन्छ भन्दा स्वरुप, आकार, चित्रलाइ बुझाउने भन्दापनि ध्यानबाट आउने अनुभवलाई महसुस गरेर बुझ्न सकिन्छ जुन हरेक साधकको आफ्नै अनुभवको आधारमा फरक पर्न सक्छ। ध्यान नितान्त ब्यक्तिगत् अनुभव भएपनि मनलाई शान्त एवं निर्मल बनाउने खालको हुन्छ। ध्यानको कुनै स्वरूप, आकार, चित्र हुदैन यो त केबल मनको कल्पना शक्ति, विचार शक्तिलाई साथमा लिई आफ्नो मन तथा भावनालाई सुद्रीढीकरण गर्ने माध्यम हो। हाम्रो मनमा असंख्य विचार, कल्पना, कूराहरु खेल्ने गर्दछन येस्तो खेल्ने कूरालाई व्यक्तिको माग के छ, मनको आवश्यक्ता कस्तो छ त्यसलाई अध्ययन गरी शुद्दिकरण गर्ने गर्दछ।
ध्यान सबै उमेरका मानिसले गर्न किन जरुरि छ?
सबैभन्दा महत्वपूर्ण र जान्ने पर्नेकूरा चाहीँ किन आवश्यक छ, के हुन्छ, कसरी परिवर्तन गर्छ भन्ने नै हो। ध्यानलाइ लिएर मानिसहरुको बुझाई अलिक फरक र संकुचित रहेको छ। ध्यान उमेरको उत्तरार्धमा गर्ने हो र बुढेसकालको समय काट्ने माध्यम हो भन्ने हिसाबले बुझेको देखिन्छ। तर मेरो विचार यो सोच अलिक संकुचित तथा अज्ञानताको कारणले ग्रसित देखिन्छ। संसारका धेरै सफल व्यक्तिहरुले कुनै न कुनै माध्यामबाट ध्यानको अभ्यास गरेको प्रशस्त उदाहरण देख्न सकिन्छ। मनमा रहेका अनेकन नराम्रा र नचाहिँदा भावनालाई शान्त एबं यसलाई बसमा राख्दै फलदायी एवं सकारात्मक सोचलाई प्रोत्साहन गर्न ध्यान अत्यन्त आवश्यक रहन्छ।
ध्यान सबैका लागि किन आवश्यक छ भन्ने कुरा निम्न बुँदाहरुबाट बुझ्न सकिन्छ ।
- साधकको कुनैपनि तहको तनाबलाई कम गर्न,
- बढ्दै गएको उमेरले गर्दा शरीरमा आउने बुढै्यौली, शाररिक बनावटलाई सकारात्मक परिवर्तन ल्याउछ,
- ध्यानले फुर्तिलो तथा एकाग्रता अभिवृद्धि गर्न सहयोग गर्छ,
- धेरै मानसिक रोगबाट सुरक्षित बनाउँदै बलियो आत्मबिश्वास बनाउन सहयोस गर्छ,
- आपसी सद्भाव तथा सहनसिलता अभिवृद्धि गरि सम्बन्धमा प्रगाढ बनाउन सहयोग गर्छ,
यी यस्ता धेरै फाइदा छन् जुन हामी ध्यान गर्दै जाँदा आफै महसुस गर्न सक्छौ। यसकारण ध्यान गर्न कुनै उमेर, समय, अवस्थाले फरक पार्दैन जब ध्यानको गहिराईमा पुगिन्छ तब हरेक कूरालाई सहज रुपमा लिन सकिन्छ।
त्यसैले सबैले ध्यान गर्ने बानी बसाली आफ्नो जीवन सुखी तथा सहज बनाउन ढिला नगरौं।



