गोकुलेश्वर । आज धान दिवस दार्चुलासहित देशभर मनाइँदै छ । सरकारले मान्यता दिएपछि दार्चुलामा बि.स.२०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस भव्य रुपमा मनाउन थालिएको हो । दार्चुला कृषि पेशाका लागि उपयुक्त जिल्ला भएकाले यहाँका अधिकांश नागरिकले खेतीपाती गर्ने गरेका छन् ।
दार्चुलाका किसान वर्षभरका लागि छाक जुटाउन यो महिना रोपाइमा व्यस्त हुने गरेका छन् । आजका दिन यहाँका नगरिकले असारे भाकामा लोकदोहोरी गीत गाउँदै छुपुछुपु हिलोमा धान रोप्प्दै रमाइलो गर्ने गर्छन् । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकप्रिय गीतहरु गाएर अषाढ १५ भव्य र सव्य तरिकाले मनाउन गरेका छन् ।
दार्चुलामा मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका दार्चुलाका किसान शक्ति प्राप्तिका लागि दही चिउरा समेत खान गरेका छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई दार्चुलामा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका दार्चुलाबासीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
दार्चुलासहित नेपालभर शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा सेतोटीका लगाउने परम्परा छ । दार्चुलामा घरबाहिर वा बिदेस जाने बेलामा दही खाएर हिँडे सहि गन्तव्यमा पुग्न सकिने जनविश्वास रहिआएको छ ।