-
- मधुसुमन नाथ
पौराणिक कथा(फाःग झोडा सगुन आदि)अनुसार द्वितिय ज्योतिष लिंग मालिकार्जुनको मूल स्थापन दक्षिण भारतको आन्द्र प्रदेशको श्री शैल्य भन्ने ठाउँमा भएको शिभ पुराणबाट सुन्न पाईन्छ ।
त्यहाँबाट बासको लागी भारतको विभिन्न राज्य (कत्युर, कुमाउ, गढिवाल ) बैतडीको तलदेह मलदेह हुम्दै काफ्लासैनी हुँदै देहगाढ पुगेको भन्ने गरिन्छ ।
बासको लागि बैतडीका सबै देउता संग अनुरोध गरे पनि कसैले नि उनलाई बाँस दिएनन् । सबैले भोजन गराई पठाउदै गए, यसैगरी मालिकार्जुन देउता बासको खोजीमा बैतडीको काफ्लासैनी हुदै देहगाढका बेताल देउता कहाँ पुगेका थिए । त्यहाँ पनि बासको लागि अटेर गरे बरु उनले भने मलैनाथ लाई “गंगा पारी लेकम गर्खा छ त्यहाँ जाऊ त्यहाँ कुनै पनि देउताको वास छैन“ भनी भोजन गराई पठाए ।
वर्षायामको चर्मव्यवती (चौलानी ) नदी पार गर्ने क्रममा देउता नदी बग्दै गरेका नदीको किनारमा दार्चुलाको नाईल गाजरी भन्ने ठाउँमा संगै हिडिरहेका नीम नाथ, भिमराज भट्ट, अभयराज पाण्डे र शिवदास आउजीले सेतो घोडामा मालिकार्जुन बगिरहेका देखे र निमनाथलाई भने “हेर निमनाथ गंगा देवा बगिरहेका छन यिनलाई समात्नु प¥यो“ नीमनाथले आफ्नो शक्ति देखाई छडी हानेर पुरा चौलानी नदी सुकाएर मालिकार्जुनलाई समाती आफ्नो झोलिमा हाली नीम नाथ त्यहाँबाट दार्चुलाको लेकम गर्खा तिर हिडेको कुरा मालिकार्जुन देउताको फाःग झोडामा सुन्न पाइन्छ ।
गोकुलेश्वर स्थित देयल गाउँमा झोली बिसाए र थकान मेटि त्यहाँबाट हिडे त्यसपछि लेकम गाउँपालिकाको गणेत स्थित सालामाणौ नीर अझ थकान मेटी हिडे र तिउनेगाउँ पुगे । तिउनेगाउँको डाडो स्थित जाईझुल भित्र नीमनाथसाथमा मालिकार्जुन देउताले आफ्नो पहिलो बाँस बसे ।
फेरि दोस्रो दिन त्यहाबाट हिडि आफ्नो दोस्रो बाँस रिठा गाउँ जाईझुल पानीको न्वालो नजिक रुखमुनी बाँस बसे । त्यो गाउँको नजिक कोट भन्ने ठाँउमा डिने राजा कोट थियो । त्यो दिनहुँ गाईवस्तु मार्ने गर्थोे र यो फोहर ठाउँ देखि मलैनाथ देवा त्यहाँ बस्न नसकी राती नै मालिकार्जुन निमनाथको झोलीबाट उडेर शैल्यशिखर गएर नीमनाथको सपना भने “म शिखर आएको छु, नपत्यिए मैले बाघको नङग्रामा निङ्लाको छडी पठाई दिन्छु हेर्नु र त्यो डिने राजाको राज्य नास गर्न सक्छौ भने मात्र म आउछु । ” भनी सपनाबाट हराए र ठिक निन्द्रा खुल्यो नीमनाथको सपनीमा भनेझैं बाघको नङ्ग्रामा निङ्लाको छडी देखे (अझै पनि त्यो ठाउँमा निङ्गलाको बोट देख्न पाईन्छ ) ।
नीमनाथले डिने राजा मार्न यस क्षेत्रको सबैभन्दा ठूलो चौलानी नदी र जमाणी नदीको संगम स्थलमा रहेको बैतडीको पन्ज्युनयाँ मसानमा आफ्नो शक्ति देखाई बिच मसानमा राति भरि जप ध्यान गरि मसान( भुत) जगाए र नीमनाथको शक्ति देखेर मसानी राजा निमनाथ सामु आएर दिनमा पनि यो मेरो मसान क्षेत्रमा मान्छेहरु आउन डराउने गर्छन, हजुर यति राति भरी मसानको बीचमा धुनी बाली जप गर्नुहुने महान पुरुष के कति कामले आउनु भयो भनी सोध्दा निमनाथ योगीले भन्नूभो “लेकम गर्खा कोट नजिक डिने राजाको वास छ । त्यसको वंश नाश गर्नुपर्यो भन्यो र भुत प्रसन्न भई हुन्छ आज विहानै डिने राज्य नास गर्नेछौ ।”
महा पुरुष निमनाथको शक्तिको प्रसंशा गर्दै कालान्तर सम्म हजुरका कुनै पनि पुस्तालाई यो मसान लाग्नेछैनौ भनी मसानी राजाले बाचा गरेको किम्वदन्ती पुर्खाहरु बाट सुन्न पाईन्छ। त्यही मसानी राजाको बाचाको कारण आजकल पनि नीमनाथका कुनै पनि सन्ततिलाई त्यो ठाउँको भुत लाग्दैन भन्ने जनविश्वास गरिन्छ।
डिने राजाको राज्य नास भएसंगै मालिकार्जुन देउताले आफ्नो सिखा दार्चुला भरी फैलाएई बाँस गरेको पाईन्छ। अहिले पनि निमनाथ योगीले मालिकार्जुन देउता समाएको ठाउँ देखि, थकान मेटाउन सबेका ठाउँ र राति बाँस बसेका ठाँउमा मालिकार्जुन देउताको मन्दिर रहेको पाईन्छ।
मालिकार्जुन देउता लाई निम नाथले आफ्नो झोलीमा बोकेर विभिन्न ठाउँ हुँदै दार्चुलामा स्थापित गरेको हुँदा मालिकार्जुनलाई निम नाथको झोलीको देउता भन्ने गरिन्छ र शैल्य शिखर लगायत अन्य मालिकार्जुन देउताका मन्दिरहरुमा जात्राको बेला सबैभन्दा पहिले निमनाथको बत्ती बाल्ने र त्यसपछि अरु भक्तजनहरुले बत्ती बाल्ने परम्परा चलिआएको पाईन्छ ।