No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रहरीमा भर्ना भएका बाबुछोरा एकै दिन डीएसपी

नेपाल प्रहरीका ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। ३७ जना डीएसपीमा बढुवा हुँदा प्रहरी इतिहासमै अनौठो संयोग जुर्यो। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन, एउटै पदमा बढुवा सिफारिस भए।

सिफारिस भएकामध्ये ३४ जना जनपदतर्फ र ३ जना प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप समूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फका हुन्।

बढुवा सिफारिस सूचीको ३१ औँ नम्बरमा राजेन्द्र अधिकारी छन्। हाल उनी जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत छन्। यता प्राविधिक समूहतर्फ पहिलो नम्बरमा ध्रुव अधिकारी सिफारिस भए। राजेन्द्र र ध्रुव बाबुछोरा हुन्। ध्रुव राजेन्द्रका कान्छा छोरा हुन्।

बुबासँग एकै दिन डीएसपीमा बढुवा सिफारिस भएका ध्रुव राजेन्द्रभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भएका हुन्। राजेन्द्र २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए। ध्रुव २०७५ मा प्रहरी निरीक्षकमा भर्ना भए। २४ वर्षको अन्तरमा प्रहरी सेवामा प्रवेश गरेका बाबुछोरा एकसाथ डीएसपी हुने संयोग मिल्यो।

असईमा भर्ना भएका राजेन्द्र २०५७ सालमा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भए। छोरो भर्ना भएको पदमा पुग्नै उनलाई अर्को १० वर्ष लाग्यो।

pm office

२०६७ सालमा राजेन्द्र इन्सपेक्टर भएका हुन्। प्रहरी सेवामा प्रवेश गरेको १६ वर्षपछि राजेन्द्र इन्सपेक्टर भए। राजेन्द्र इन्सपेक्टर हुँदा पनि ध्रुव प्रहरीमा प्रवेश गरेकै थिएनन्। त्यसको ८ वर्षपछि मात्रै उनी प्रहरी सेवामा प्रवेश गरे।

तर प्रहरीका प्राविधिक समूहमा छिटो बढुवा हुन्छ। जनपदमा जस्तो १० वर्षसम्म पनि एउटै दर्जामा रहनु पर्ने बाध्यता छैन। त्यही भएर ध्रुव छिटो बढुवा भए। सेवामा प्रवेश गरेको ४ वर्षमै बढुवा हुँदा बाबुछोरा एउटै दर्जामा एकै दिन पुगेका हुन्।

नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
राजेन्द्रका दुई छोरा छन्। दुवै छोराले इन्जिनियरिङ पढे। जेठो छोरा सुशील कलेज पढाउँछन्।

‘उसले राम्रो पढ्यो, स्नातकोत्तर पनि टप भयो। आयोगबाट एक नम्बरमा नाम निकाल्यो। पहिले त उसको प्रहरी हुने सोच थिएन। एक दुई ठाउँमा आयोगमा भिड्यो। त्यता नभइसकेपछि यता दियो सफल भयो,’ छोराको सफलताबारे राजेन्द्र भन्छन्, ‘मान्छेलाई भाग्यले जता साथ दियो, त्यतै जाने रहेछ।’

छोरालाई प्रहरी नै हुनुपर्छ भनेर राजेन्द्रले भनेका होइन। तर राजेन्द्र प्रहरी भइसकेपछि घरपरिवारमा प्रहरीकै कुरा हुन थाले। ध्रुवले पनि यतैको लय समाते।

राजेन्द्रको सेवा अवधि २ वर्ष बाँकी छ । ३० वर्षे सेवाअवधिका कारण उनी २०८१ मा अनिवार्य अवकाशमा जानेछन्। तर ध्रुवको भने अझै २६ वर्ष सेवा अवधि बाँकी नै छ । राजेन्द्र डीएसपीबाटै अवकाश हुने सम्भावना बढी छ । तर ध्रुव भने अझ माथिल्लो पदमा पुग्ने सम्भावना छ । साभारः नेपाल खबरबाट

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.