गोकुलेश्वर । पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोह भएको छ ।
केही हतियारधारी सिपाही राष्ट्रपति भवनमा प्रवेश गरी कब्जामा लिएका छन्। यससँगै राष्ट्रपति मोहम्मद बजमलाई सत्ताबाट हटाएर कैद गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सेनाले राष्ट्रिय टीभीमा विद्रोहको घोषणा गरेको थियो। कर्नेल अमाडो अब्द्रामाने अन्य सैन्य अधिकारीहरूसँग टीभीमा देखिएका थिए। उनले राष्ट्रपतिलाई सत्ताबाट हटाइएको बताएका थिए ।
नाइजरको सीमा बन्द, देशभर कर्फ्यू घोषणा
कर्णेलले भने, ’बिग्रिएको सुरक्षा अवस्था र कमजोर सुशासनका कारण हामी राष्ट्रपति शासन अन्त्य गर्दैछौँ ।’ अब्द्रामानेले नाइजरको सिमाना सिल गरिएको बताएका छन् । देशभर कर्फ्यू घोषणा गरिएको छ र सबै सरकारी कार्यालयहरू स्थगन गरिएको छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपतिलाई सम्भावित सबै सहयोग उपलब्ध गराउने बताएका छन्। यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गरेको र राष्ट्रसंघको पूर्ण सहयोगको प्रस्ताव राखेको बताएका छन् ।



