गोकुलेश्वर। भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ८० जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ।

मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो। विपरित दिशाबाट आइरहेको यसवन्तपुर—हाउडा सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो।
घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।
उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।
घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ ।समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् ।



