गोकुलेश्वर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीहरुसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरुले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्नेसमेत बताए ।

अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारूढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे ।
उनले भने, ‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ । त्यसकारण अघि मैले भनेँ व्यवहार सोचेजस्तो हुँदैन। सिद्धान्त सोचेजस्तो हुँदैन । नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानुपर्दछ । किन? यहाँ कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन् । यो सबै अवस्थाभित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरु र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरु, उसका आफ्नै सीमाहरु बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुटनुपर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौँ ।’
अध्यक्ष नेपालले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपासमेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए ।



