संस्कृति मन्त्री किरातीको चौतर्फी विरोध,दार्चुलाबाट खेद्दै स्वामी रामान्नद सरस्वती
दार्चुला भ्रमणमा आए कालो झण्डा देखाउने चेतावनी
गोकुलेश्वर।संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेका बेला दार्चुलाबाट स्वामी रामान्नद सरस्वतीले मन्त्री किरातीले तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित जगतपुरी शिवधामका पिठाधिस समेत रहेका सरस्वतीले मन्त्री किरातीको‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने अभिव्यक्तिको विरोध गर्नुका साथै त्यो अभिव्यक्ति फिर्ता लिई तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन् ।

उनले मन्त्री पदबाट राजीनामा नदिई पदमा निरन्तर रहिरहेको खण्डमा किरातीलाई दार्चुला भ्रमणमा आउन नदिने र भ्रमणमा आए कालो झण्डा देखाउने चेतावनी दिएका छन्।
‘संस्कृति मन्त्री किरातीको अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ ।,’ उनले भने,‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा बस्न मिल्दैन ।संस्कृतिबाट मुक्त भइरहेका छन् । संस्कृति जिम्मेवारी कुच्याउनु भएको छ । ’
रामान्नद सरस्वतीले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताए ।सामाजिक सद्भाव बिगार्ने काम गरेको र उनलाई बर्खास्त गर्नुपर्ने उनको भनाई छ ।
बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो । उक्त अभिव्यक्तिपछि किराँतीको सर्वत्र आलोचना भएको छभने हिन्दु सम्बन्ध विभिन्न संघसंस्थाले उनको राजिनामा मागेका छन् । किराँतीको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन हुनुका साथै उनी विरुद्ध नाराबाजी हुँदै छन् ।



