गोकुलेश्वर। दार्चुला–तिंकर सडकको स्थलगत अनुगमनमा भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोली दार्चुला पुगेको छ ।
जिल्लाको तुषरपानी–कोठाधार–तिंकर सडक खण्डमा भइरहेको कार्यप्रगतिको स्थलगत अनुगमन गर्न मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू, भौतिक पूर्वाधार सचिव केशव शर्मा,सेनाको विकास निर्माण हेर्ने सहायक रथी विकास पोखरेललगायतको टोली दार्चुला पुगेको हो ।
अहिले मन्त्री ज्वालासहित टोली सुन्सेरा छ । मन्त्री ज्वालाले भने,‘अहिले हामी सडक अनुगमनकै क्रममा छौ । हामी तिंकरसम्म जान्छौं। यहाँको कामकारबाहीबारे हामीले जानकारी लिएका छौं ।’ मन्त्री ज्वालाकानुसार सुरुमा सेनाले निर्माण गरिरहेको सडक अनुगमन गर्नेछ ।

त्यस्तै, सुन्सेरा र महाकाली नदी किनार क्षेत्रमा निर्माण भइरहेको सडकको हवाई अवलोकन गर्नेछ । त्यस्तै,व्यास गाउँपालिकाको –२ दुम्लिङ वा थिइक्षेत्रमा रहेको सेनाको क्पाम्पमा पनि अनुगमन टोली हेलिकप्टरबाट पुग्ने छ ।
छाङरू र तिंकर गाउँसम्मको क्षेत्रमा हवाइफन्को लगाएर टिंकर सडकको प्रस्तावित एलाइनमेन्टको समेत अवलोकन गर्ने छ ।तिंकरको अनुगमनपछि टोलि सुर्खेत फर्किने कार्यक्रम छ ।
बिहीबार बिहान मन्त्री ज्वाला र सासंद बडूसहितको टोली काठमाडौँको त्रिभूवन विमानस्थलबाट दार्चुलाका लागि नेपाली सेनाको एन ए ०५४ नम्बरको हेलिकोप्टरमार्फत प्रस्थान गरेको थियो ।
हिजो बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी–कोठेधार–टिकर’ सडक खण्डको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । सो अवसरमा नेपाली सेनाले दार्चुला तिंकर सडक खण्डको प्रगति विवरण ब्रिफिङ गरेको थियो ।
