गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरिएको छ ।
सवारीको चाप भइरहने गोकुलेश्वरमा यात्रु तथा चालकलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दे ट्राफिक प्रहरीले नियमित सवारी चेकजाचमा कडाइ गरिरहेको हो ।

सिट क्षमता भन्दा बढी यात्रु बोकेको, तोकिएको भाडा भन्दा बढी लिएको, तिव्र गतिमा सवारी चलाएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, सवारी चालक अनुमपति पत्र तथा सवारी धनी कागजपत्र साथमा नभएको,बिना हेलमेट मोटरसाइकल चलाउने, बिना नम्बर प्लेटको सवारी साधन र चालकहरुलाई नियन्त्रणमा लिइ प्रकृति हेरी कानुन बमोजिम कार्बाही गरिरहेको अस्थायी ट्राफिक पोस्ट गोकुलेश्वरका प्रहरी सहायक हवल्दार मीन नाथले बताए ।
उनका अनुसार विभिन्न ट्राफिक नियम उल्लघन गर्ने सवारी साधनलाई कडाइका साथ चेकजाच गरी कार्वाही गरिरहेको छ ।एकै ठाउँ नबसी सवारीमाथि छड्के जाँच गर्ने योजना समेत रहेको हवल्दार नाथले बताए ।
ट्राफिक प्रहरीले गोकुलेश्वर बजार आसपास क्षेत्रमा लगायत बैतडीको गोकुलेश्वर क्षेत्रमा नियमित रुपमा चेकजाच गर्दै आएको छ । यस्तैगरि ट्राफिक प्रहरीले सवारी चालकहरुलाई टा्फिक सम्बन्धि प्रशिक्षण समेत गरिरहेको छ ।
सवारी चेक जाँचमा कडाइ गरेसंगै दुर्घटनाको जोखिम कम हुनुका साथै राजस्व संकलनमा समेत वृद्धि हुने छ ।



