नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता माननीय खगराज भट्टले आज प्रदेश सभामा गरेको सम्बोधन
माननीय सभामुख महोदय , केही दुखद र केही सुखद प्रसंग लिएर म यो रोष्टममा उभिएको छु ।
दसैंजस्तो महत्वपूर्ण पर्वको उत्साह मनाउनुपर्ने बेलामा हामी शोकमा छौं । देश शोकमा छ,हाम्रो प्रदेश शोकमा छ । हामी स्तब्ध छौं ।
इजरायलमा विद्रोही समुहको आक्रमणमा परि ज्यान गुमाएको सुदूरपश्चिम र देशका अन्य क्षेत्रका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेको स्वास्थ्यलाभको कामना गर्दछु ।
सभामुख महोदयमार्फत इजरायलमा डरत्रास आतंकका बीचमा रहेका सबै नेपालीलाई यथास्रिघ स्वदेश फर्कने प्रबन्ध मिलाउन प्रदेश र संघीय सरकारसंग विशेष माग गर्न चाहन्छु ।
सम्माननीय प्रधानमन्त्री र संघीय सरकारले इरजायलमा रहेका नेपालीको उद्धारका लागि गरिरहेको पहलका लागि धन्यवाद पनि दिन चाहन्छु ।
मानवता,विश्व अर्थतन्त्र र विश्वशान्तीका लागि इजरायल प्यालेस्टाइन,रुस,युक्रेन लगायतका सबै द्धन्द्धको शान्तीपुर्व समाधानका लागि विश्व समुदायसंग हार्दिक आग्रह गर्दछु ।
सभामुख महोदय बझाङ लगायत सुदूर पहाडका जिल्लामा भुकम्पले ज्यु धनको क्षति पु¥याएको छ । निरन्तर भुकम्पको धक्का आइरहेको छ ।
सरकारले भुकम्प पीडितको व्यवस्थापन र दसैं अगावै उनीहरुको सुरक्षित अस्थायी आवास र गास,वासको उचित व्यवस्था गरोस् भन्ने माग गर्न चाहन्छु ।
सभामुख महोदय,दुखद प्रसंगसंगै हामीसंगै केही सुखद खबर पनि छन् ।
गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रुपान्तरण गर्ने संघीय सरकारको निर्णयको स्वागत गर्दै सम्मानिय प्रधानमन्त्री ज्यु र संघिय सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
सम्मानीय प्रधानमन्त्री ज्युको भारत भ्रमणका क्रममा भारत सरकारले अनुदानमा नेपालको डडेल्धुराको शीर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा भारत नेपाल जोडने दुईवटा पुलको निर्माण गर्ने सहमती भएको छ । यी पुलले भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेशबीच सम्पर्क विस्तार गर्न मदत मिल्नेछ ।
माननीय सभामुख महोदय मार्फत सम्मानिय प्रधानमन्त्री ज्युलाई म यसका लागि धन्यवाद र सहमतीको यथासिघ्र कार्यान्वयनका लागि पहल गर्न आग्रह गर्दछु ।
यसबाहेक प्रधानमन्त्री ज्युको मित्रराष्ट्र चीन भ्रमणका क्रममा चीनसंगका सबै परम्परागत नाकाहरु खोल्ने सहमतीको पनि म स्वागत गर्न चाहन्छु ।

यसबाहेक संघीय सरकारले सुदूरपश्चिमको विकासका लागि अगाडी बढाएको महत्वपूर्ण कदमका लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु ।
भष्ट्राचारको अन्त्य र सुशासनको स्थापपना लागि सम्मानीय प्रधानमन्त्री ज्युले चाल्नुभएको कमदको म मुक्तकण्ठले प्रशंसा गर्दछु ।
माननीय सभामुख महोदय,अर्को खुशीको कुरा,
एउटा पनि अन्तराष्ट्रिय रंगशाला नभएको हाम्रो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका सदस्य दिपेन्द्र ऐरिले चिनमा भएको एसियन गेममा मंगोलियाविरुद्धको टि–ट्वान्टी खेलमा ९ बलमा ५० रन बनाएर विश्वकिर्तीमान कायम गरेका छन् । यसका लागि म दिपेन्द्रलाई हार्दिक बधाई दिन चाहन्छु ।
दिपेन्द्रको विशेष सम्मानका लागि म प्रदेश सरकारसंग आग्रह गर्न चाहन्छु ।
दिपेन्द्र मात्रै होइन सुदूरको उर्वर क्रिकेट भुमिमा सयौं दिपेन्द्रहरु जन्मीन सक्छन्,उनीहरुको खोजीका लागि खेल पुर्वाधारमा ध्यान दिन र खेलाडीको हौसला बढाउन सरकारको र माननीय मुख्यमन्त्री ज्युको ध्यानाकर्षण गराउन चाहन्छु ।
सभामुख महोदय,संघीयता र प्रादेशिक संरचनाको औचित्य र उपादेयतामाथि प्रश्न उठाउने र हजारौंको बलिदानबाट प्राप्त जनताको सर्वोच्चता स्थापित भएको यो व्यवस्था उल्ट्याउन इतिहासले रछ्यानमा मिल्काएका तत्वहरु सामाजिक सद्भाव खल्बल्याउने,सम्प्रदायिक द्धन्द्ध सिर्जना गर्ने ,सामाजिक सञ्जालमार्फत कलोलकल्पीत विषय सिर्जना गरेर तरंगित पार्ने राजनीतिक दल र निर्वाचित जनप्रतिनिधी संस्थालाई असफल र बदनाम साबित गर्दै देशलाई पश्चगमनतर्फ लैजाने दुस्प्रयास गरिरहेका छन् ।
उनीहरुको यो सपना निस्तेज पार्न जनताको निरन्तर निगरानी,हस्तक्षेप,सहभागिता र नियन्त्रणसहितको जनमुखी शासन स्थापित गर्दै,राजनीतिक दलहरुको वैचारिक,राजनीतिक,सांस्कृतीक,सांगठनिक र कार्यक्रमिक स्वरुपमा प्रगतिशिल रुपान्तरणसहित कडा प्रतिवादमा उत्रिनु सबै राजनीतिक दलहरुको अनिवार्य दायित्व र कर्तव्य हो । यसमा हाम्रो सम्मानित सदन र सरकार अब्बल सावित हुने विश्वास गर्दछु । अन्त्यमा नजिकिदै गरेको दसैं,तिहार र छठपर्वको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यसका साथै महान चाडपर्वहरुको यो समयमा हुने कालोबजारी नियन्त्रण,विभिन्न बहानामा यात्रुहरु माथि हुने ठगी,दुर्घटनाका जोखिमसंगै ,अपराधजन्य क्रियाकलाप नियन्त्रणका लागि प्रभावक अनुगमन र
भरपर्दो सुरक्षा प्रबन्ध गर्न सभामुखमार्फत प्रदेश सरकारलाई आग्रह गर्न चाहन्छु ।
धन्यवाद. ।



