गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स पंसेरामा थन्किएको छ ।
मर्मत सम्भारको अभावमा डिलाशैनी गाउँपालिका–३ पंसेरामा करिब डेड वर्षदेखि सुदूरपश्चिम प्रदेश ०१–००१झ ३४६ नम्बरको एम्बुलेन्स पंसेरामै थन्किएको हो । एकै ठाउँमा लामो समय राखिएका कारण एम्बुलेन्सका टायर,लगायत अन्य पाठपुर्जा बिग्रिसकेका छन् ।
पालिकाले एम्बुलेन्स मर्मतमा चाँसो नदिदाँ थन्किएको हो।२०७६ कार्तिकमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई ३९ लाखको ‘बी ग्रेड’को अत्याधुनिक एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेको थियो । केही वर्ष एम्बुलेन्स राम्रैसँग चलेको थियो ।एम्बुलेन्सबाट स्थानीयले सेवा पनि पाए ।
डेड वर्षदेखि एम्बुलेन्स थन्किएपछि सेवाग्राही सास्ती खेप्न बाध्य छन् । गाउँपालिकाले मर्मत गर्न चासो नदिएकोले एम्बुलेन्स थन्किएको स्थानीयको दाबी छ । एम्बुलेन्स सञ्चालन ल्याउन पालिकाले चासो नदिएको स्थानीयको गुनासो छ । एम्बुलेन्स नहुँदा बिरामीहरूले भने सास्ती भोग्नुपरेको छ ।

पूर्व स्वास्थ्यकर्मी पालिका अध्यक्ष रहेको पालिकामै यसरी एम्बुलेन्स थन्किएपछि जनप्रतिनिधिहरूको आलोचनाले बजार तातेको छ । पालिका अध्यक्ष सन्तोष प्रकाश जोशी पूर्व स्वास्थ्यकर्मी समेत हुन् ।
एम्बुलेन्स जस्तो संवेदनशील साधन एक वर्षदेखि यसरी थन्किँदा मर्मत गर्न पालिकाले चाँसो नदिएको भन्दै जनप्रतिनिधिहरूको आलोचना हुन थालेको हो ।
बिरामीलाई उपचारका लागि अस्पताल लैजाने भरपर्दो साधन एम्बुलेन्स नै थन्किएको छ । गाउँपालिकाले मर्मत नगरिदिएर जनतालाई एम्बुलेन्स सेवाबाट बञ्चित गरेको स्थानीयको गुनासो छ । पालिका अध्यक्ष जोशी ठुला ठुला गफ मात्रै गर्ने काम नगर्ने स्थानीयको आरोप छ ।
गाउँपालिका अध्यक्ष जोशीले हामी निर्वाचित हुनु भन्दा पहिला देखि नै एम्बुलेन्स थन्किएको र भगौलिक हिसाबले यहाँ उक्त एम्बुलेन्स चलाउज अप्ठेरो भएको कारण कार्यपालिकाबाट सर्वसम्मन निर्णय गरिसकेका चाँडै नै सामाजिक विकास मन्त्रालयललाई नै बुझाउने तयारी रहेको बताए ।
‘कार्यपालिकाबाट मन्त्रालयलाई नै बुझउने निर्णय भइसकेको छ । हामीले पत्र पनि पठाइ सकेकाक छौं ।’ उनले भने,‘ एम्बुलेन्स पठाउनको लागि टेलरको आवस्यक भएको छ । हामी चाँडै नै फिर्ता गछौं । फिर्ता गर्ने भनेर पत्र पठाइ सकेका छौं ।’
सुदुरपश्चिम प्रदेश सरकारले २०७५/०७६ को बजेटमा ७ वटा पहाडी जिल्ला, दार्चुला,बैतडी,डडेल्धुरा, बझाङ, अछाम, बाजुरा र डोटीका १६ वटा निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो ।



