गोकुलेश्वर। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १७ मंसिर २०७७ मा एकै पटक तीन सय ९६ पालिकामा आधारभूत पालिका अस्पताल शिलान्यास गरे। ती अस्पतालमध्येको एक थियो, बैतडीको डिलाशैनी गाउँपालिकाको १० शय्याको अस्पताल ।
अहिले डिलाशैनीमा शिलान्यास गरिएको पालिका अस्पताल अलपत्र छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने गरी शिलान्यास गरिएको अस्पताल करिब ३ वर्ष हुनै लाग्दासम्म पनि अलपत्र छ ।
गाउँपालिकाले अस्पताल निमार्णमा चाँसो नदेखाउँदा अलपत्र बनेको हो । २०७८ असार २५ मा अस्पताल निमार्णका लागि गाउँपालिका र मालिका एच.टि.सि.जेवी महेन्द्रनगर कञ्चनपुर निर्माण कम्पनीसँग सम्झौता भयो । १३ करोड ६७ लाख ९५ हजार भ्याटसहित २०८० असार मसान्तसम्म अस्पताल निमार्ण सम्पन्न गरिसक्ने गरि सम्झौता भएको थियो ।
२०७८ कार्तिक ९ मा गाउँपालिकाले डिलाशैनी—७ खेतिगाउँमा अस्पताल निमार्ण गर्न जग्गा उपलब्ध गरायो। निर्माण कम्पनीले अस्पतालका लागि खेतिगाउँमा जग्गा सम्म्याउने, निमार्ण सामाग्री, भौतिक संरचनालगायत अन्य आवश्यक मेसिनहरू पुर्याइ निमार्ण कार्य अगाडि बढायो ।
निर्माण कार्य हुँदै गर्दा २०७८ मंसिर २७ मा गाउँपालिकाले अस्पताल निमार्णमा विवाद भएको भनि स्वास्थ्य मन्त्रालयको पत्रानुसार तत्काल काम रोक्न ठेकेदारलाई पत्र पठायो। सोही पत्रानुसार निमार्ण कार्यपनि रोकियो ।
सम्झौतानुसार २०८० असार ३० भित्र भवन निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने भएपनि पालिकाले निमार्णका चाँसो नदिदाँ अहिलेसम्म अस्पतालको अत्तोपत्तो छैन। पालिकाकै गौरवको आयोजनालाई अधुरो र अलपत्र रहेको भएपनि गाउँपालिका चुपचाप छ ।
अस्पताल जस्तो संवेदनशील संरचना अलपत्र पर्दा पनि गाउँपालिकाले कुनै पहल नचालेको भन्दै जनप्रतिनिधिहरूको आलोचना भइरहेको छ।अझै झन गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशी पूर्व स्वास्थ्यकर्मी हुन् ।
काम रोकिएको बेलादेखि निर्माण कम्पनीले कयौँ पटक निमार्ण कार्य अगाडि बढाउनका लागि साइड उपलब्ध गराउन पालिकालाई पत्र पठायो ।तर, गाउँपालिकाले कुनैपनि पत्रको जवाफ दिएन ।
निर्माण कम्पनीले पालिकालाई मात्रै पत्र पठाएन, जिल्ला प्रशासन कार्यालय बैतडी, जिल्ला समन्वय समिति बैतडीलाई समेत अस्पताल निमार्णका लागि आवश्यक समन्वय गरिदिन पत्र पठायो ।तर, ती पत्रहरुको पालिकाले वास्तै गरेन ।

पालिकाले अस्पताल निमार्णमा विवाद भएको भनि स्वास्थ्य मन्त्रालयको पत्रानुसार तत्काल काम रोक्न ठेकेदारलाई पठाएको पत्र पछि काम अगाडी बढाउनको लागि साइड नै दिएन ।
ठेकेदारले निमार्ण कार्य अगाडी बढाउनको लागि साइड दिन भनि पठाएका ती सबै पत्र बेकाम भए । ठेकेदारले कयौं पटक काम गर्न साइड दिन भन्दा भन्दै साइड नदिएको पालिकाले २०८० जेठ २ मा ठेकेदारलाई सम्झौता बमोजिम तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गरि १० शैय्याको अस्पतालको भवन हस्तान्तरण गर्न भनि पत्र पठायो ।
अन्य ठाउँमा ठेकेदार काम नगरेर भागेको भन्दै ठेकेदार खोज्न प्रशासनलाई आग्रह गरिन्छ । तर, डिलाशैनीमा ठिक उल्टो भयो । ठेकेदारले काम गर्न दिनभनि प्रशासनलगायतका अन्य सम्बन्धित निकाय जानु पर्ने भयो ठेकेदार रधुबिरसिंह साउदले बताए ।
‘काम गर्नको लागि पालिकाले साइड दिएन ।’उनले भने,‘साइड नै नदिइ पालिकाले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गरि १० शैय्याको अस्पतालको भवन हस्तान्तरण गर्न भनि पत्र मात्रै पठायो । साइड नै नदिएपछि मैले कसरि तोकिएकै समयमा अस्पताल पालिकालाई हस्तान्तरण गथ्र्ये । मलाई निमार्ण कार्य गर्नको लागि साइड नै दिएन । ’
यो षियमा गाउँपालिकाका प्रवक्ता यज्ञ राजसँग फोन गरेर बुझ्न खोज्दा उनले बोल्न चाहेनन् । ‘फोनबाट सबै कुरा भन्न मिल्नैन । जानकारी चाहिएको भए कार्यलयमै आएर लग्नुहोस् ।’ उनले भने ।
शिलान्यास भएको दुई बर्षभित्रमा नै अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो।डिलाशैनीमा आधारभूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानीय पनि खुसी भए । तर, डिलाशैनीबाटै विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानीयको सपना भने पुरा भएन ।
गाउँमै अस्पताल बनेपछि सामान्य बिरामी पर्दा उपचारको लागि टाढा जानुपर्ने समस्या हट्ने भन्दै खुसी बनेका डिलाशैनीका स्थानीय अस्पताल निर्माणको काम अलपत्र बनेपछि निरास छन् ।
तामझामको साथ शिलान्यास भएको भवन अलपत्र पर्दा उपचारका लागि धनगढी,नेपालगञ्ज,भारत वा निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको डिलाशैनीका स्थानीय बताउँछन् ।
आधारभूत स्वास्थ्य सेवा गाउँघरमै पुर्याउने उद्देश्यसहित अस्पताल निर्माण गर्ने योजना बनाएको भएपनि अस्पताल निर्माणका योजना चौपट परेको छ । अस्पताल सञ्चालन ल्याउन पालिकाले चाँसो नदिएको स्थानीयको गुनासो छ ।
अस्पताल जस्तो संवेदनशील संरचना अलपत्र पर्दा पनि गाउँपालिकाले ठेकेदारलाई जग्गा उपलब्ध नगराएको,निमार्णका लागि कुनै पहल नचालेको भन्दै जनप्रतिनिधिहरूको आलोचना हुन थालेको छ ।
पालिका अध्यक्ष पूर्व स्वास्थ्यकर्मी रहेको पालिकामै यसरी अत्यावश्यक सेवाका रुपमा रहेको १० शय्याको पालिका अस्पताल निमार्ण कार्य अलपत्र पर्दा आलोचनाले बजार तातेको छ ।



