गोकुलेश्वर। गत आर्थिक वर्ष डिलाशैनी गाउँपालिकाले केही व्यक्तिलाई सदभावना दूतमा नियुक्त गरेको पाइएको छ।
पालिकाबाट मासिक १५ हजार तलबभत्ता पाउने गरेर डिलाशैनीका स्थानीय ४ व्यक्तिलाई सदभावना दूतमा नियुक्त गरेको हो ।
सदभावनामा दूतमा पालिकाको समृद्धिका लागि उच्च अहोदमा बसेर पालिकाको छवि माथि पुर्याउने भन्दापनि जनप्रतिनिधिले आफ्नो नजिकको व्यक्तिलाई दूत नियुक्त गर्दा केही स्थानीयले त्यसको विरोध जनाएका छन् ।
यसरी सदभावना दूतको नियुक्ती पाउनेमा वडा नम्बर १ का श्रीकान्त राना, वडा नम्बर २ का पुरनराम लुहार, सोही वडाकै प्रकाश खत्री र वडा नम्बर ७ का प्रजापती जोशी रहेका छन् ।

राना राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा आवद्ध व्यक्ति हुनभने रास्वपा सरकार रहँदा तत्कालिन स्वास्थ्य राज्यमन्त्री तोषिमा कार्कीको स्वकीय सचिव रहेको दाबी गर्थे । उनी हालपनि काठमाडौंमा कार्कीकै घरमा बसिरहेका उनी निकट स्रोतले बताएको छ।
यस्तै, लुहार र खत्रीलाई स्थानीय तहको निर्वाचनमा आफूलाई सघाएबाफत उनीहरूको गुन तिर्न सदभावना दूत नियुक्त गरिएको स्रोतले जनाएको छ।
त्यस्तै,अर्का सदभावना दूत जोशीभने एमाले बैतडीका सचिवालय सदस्यसमेत हुन्। उनले स्थानीय तहको निर्वाचनमा एमालेबाट छुट्टिएर गएको स्वतन्त्र समूहलाई सहयोग गरेबाफत उनलाई नियुक्ती दिइएको बताइएको छ ।
सदभावना दूत जोशीले भने आफू हाल पार्टीको कामकाजभन्दा बाहिर रहेको बताए । उनले पालिकाले तलब दिएको स्विकार्दै सदभावना दूतको विषयमा थप खुलेर कुरा गर्न चाहेनन् ।
सदभावना दूतहरूको असार मसान्तमा करार अवधि सकिएको हुँदा हालसम्म म्याद थप गरिएको छैन । पालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले पनि केही समय अगाडि एक सञ्चारमाध्यमलाई अन्तर्वाता दिँदै आफूहरूले सदभावना दूतहरू राखेको पुष्टि गरेका थिए।



