‘मार्माली माल’ गोकुलेश्वर सप्लाइ गर्ने सहदेब र बिर्ख प्रहरीको फन्दामा
उनीहरुसित थियो ४ किलो बढी चरेस
गोकुलेश्वर। दार्चुलामा ४ किलो लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका—३ कर्कलेबाट (आज) बुधबार ४ किलो १ सय ग्राम चरेस चरेससहित दुई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्लाको मार्मा गाउँपालिका—१ घोल्जरका २० वर्षिय सहदेबसिंह ठगुन्ना र सोही ठाउँका २८ वर्षिय विर्ख ठगुन्ना रहेका छन् ।
उनीहरुको साथबाट ४ किलो १ सय ग्राम चरेस, १ थान नापतोल गर्ने तराजु र ढकसहित बरामद गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुला सुचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट सो मात्रामा चरेस बरामद गरि पक्राउ गरिएको हो ।
उनीहरुले सो चरेस गोकुलेश्वर बजारमा बिक्रीवितरण गर्ने उद्देश्यले ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
