इप्रका गोकुलेश्वरका इन्चार्ज ऐरीको आग्रहमा शैल्यशिखरका एक बालकको हेलिकोप्टरमार्फत उद्धार
करेन्ट लागेर गम्भीर घाइते महिलालाई लिन आएको थियो हेलिकोप्टर
गोकुलेश्वर। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको आग्रहमा दार्चुलाका एक बालकको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिका—६ बङगाबगरकी ४० वर्षीया कलावती नाथलाई गोकुलेश्वर अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज लग्न आएको नेपाली सेनाको हेलिकोप्टरमा घरको छतबाट लडेर गम्भीर घाइते भएका दार्चुलाको शैल्यशिखर नगरपालिका—१ बलाच बाँज बस्ने ५ वर्षीय आरुष खडायतको प्रहरी निरीक्षक ऐरीको आग्रहमा हेलिकोप्टरमार्फत उद्धार गरि थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

खडायत घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनको बाँया हात,मुख,टाउँकोमा गम्भीर चोट लागेको थियो ।खडायतलाई पनि नाथलाई लिन सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर मार्फत प्रहरी निरीक्षक ऐरको आग्रहमा नेपालगञ्ज पठाइएको हो ।
बालक खडायतको पनि अवस्था गम्भीर रहेकाले बालकालाई पनि लग्न हेलिकोप्टरका क्याप्टेनलाई आग्रह गरिसोही हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक ऐरले बताए ।
‘बालकको अवस्था पनि गम्भीर थियो ।’उनले भने,‘क्याप्टेनलाई बालकको अवस्था पनि गम्भीर रहेकाले हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिदिन आग्रह गरे । आग्रहलाई क्याप्टेनले मान्नु भयो । बालकालाई पनि सोही हेलिकोप्टर मार्फत नेपालगञ्ज पठायौं ।’
