बझाङमा एकैपरिवारका ३ जनामाथि चक्कु प्रहार गर्ने एक पुरुष पक्राउ परेका छन् ।
कैलालीको कैलाली गाउँपालिका–१ का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । सुर्मा गाउँपालिका–३ चैनपुरमा भाडामा बस्दै आएका कमल विकको श्रीमती र दुई छोरामाथि गत भदौ ४ गते मध्यरातमा चक्कु प्रहार भएको हो ।

कमल विक त्यतिबेला काठमाडौंमा थिए । उनी नभएको बेला उनको परिवारमाथि मध्यरातमा तरकारी काट्ने चक्कु प्रहार भएको हो । परिवारका तिनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
स्यानु चौधरी घर जाने तयारीमा थिए, तर उनीसँगै ६ महिना काम गर्दा पनि प¥याप्त रकम थिएन । पैसा नभएको रन्कोमा उनी करिब १२ बजे राति कमल विकको कोठामा मोबाइल देखेपछि चोर्न पुुगे, तरकारी काट्ने चक्कुले २ बालक एक महिलालाई प्रहार गरे र त्यहाँबाट भागे । उनले घटनाको यस्तो वास्तविकता प्रहरीलाई बताएका हुन् ।
मोबाइल चोरेर भएपनि केही पैसा कमाउन सकिने देखेर उनी सो घरभित्र पसेका रहेछन् । कैलालीबाटै उनी पक्राउ परेका हुन् ।



