गोकुलेश्वर । चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा कार्यरत नर्स र सुरक्षा गार्डमाथि आक्रमण भएको छ । आफ्नी आमाको उपचारका क्रममा मृत्युपछि आवेगमा आएका छोराले नर्स तथा सुरक्षा गार्डमाथि सोमबार हातपात गरेका हुन् ।

आइसीयूमा राखी फोक्सोको क्यान्सरको उपचार गराइरहेकी आमाको मृत्युपछि मकवानपुरका रोशन सुनारले आइसीयूमा छिरेर त्यहाँ कार्यरत नर्स जस्मिना श्रेष्ठमाथि हातपात गरेका थिए ।
सहकर्मीमाथि आक्रमण भएपछि त्यहाँ कार्यरत चिकित्सक तथा नर्सले उनलाई समाउन खोजेका थिए । तर उम्केर उनी गेटसम्म पुगे। त्यहाँ खटिएका सुरक्षा गार्डले उनलाई समाउन खोजे, तर उनले झोलाबाट धारिलो बस्तु झिकेर हातै काटिदिए ।
कलेजका सीईओ डा सुप्रभात श्रेष्ठले अहिले रोशनलाई प्रहरीको जिम्मा लगाइएको बताए ।
उपचाररत बिरामीको अवस्थाका बारेमा अस्पताल र चिकित्सकले नियमित रुपमा बिरामी पक्षलाई जानकारी गराइएको डा श्रेष्ठको भनाइ छ। अस्पतालको ब्रिफिङअनुसार मृतकका पतिले सहज रुपमा लिए पनि छोरा आवेगमा आएको डा श्रेष्ठको भनाइ छ।



