गोकुलेश्वर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीपूर्व नवलपुरको त्रिवेणीस्थित घ्युखोलामा यात्रु बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।
विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो । बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ।
