गोकुलेश्वर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूचीसहित बोलाइएको प्रदेशसभाको बैठक छल्न उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेकी छिन् । आज विश्वासको मतको लागि बोलाइएको बैठकमा अनुपस्थित हुनेगरी उनी काठमाडौं हिँडेकी हुन् ।
दिउँसो १ बजे प्रदेशसभाको बैठकअघि आज बिहान ८ बजे कार्यव्यवस्था समितिको बैठक डाकिएको थियो । तर, यती एयरको बिहान ७ बजेको उडानमार्फत दनुवार काठमाडौं लागेकी हुन् ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई विपक्षीहरूको रणनीतिले विश्वासको मत प्राप्त गर्न समस्या देखिएको छ । प्रदेशसभाको अध्यक्षता कसले गर्ने भन्नेमा अहिलेसम्म पनि अन्यौल रहेको छ । सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार गठनमा सहयोग गरेका कारण उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने हो तर उपसभामुख दनुवार बैठकमा अनुपस्थित हुने भएपछि थप अन्यौल छाएको छ ।
उपसभामुख अनुपस्थित भए जेष्ठ सदस्यले सभा सञ्चालन गर्ने व्यवस्था भए पनि एमाले र राप्रपाका आठ जना ज्येष्ठ सदस्य बिदामा बसेका छन् । यसो हुँदा अब सत्ता पक्षकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले विश्वासको मत पाउन सक्दैन ।
विश्वासको मत पाउन ४७ सांसदले पक्षमा मतदान गर्नुपर्छ तर प्रदेशसभाको अध्यक्षता सत्ता पक्षले गर्ने हो भने ४६ जनाको मात्रै पक्षमा मतदान हुने छ । ४६ जना सांसदले पक्षमा मतदान गरे पनि सरकारले विश्वासको मत पाउँदैन । सरकारले विश्वासको मत नपाए ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउने मौका पाउने छ ।



