गोकुलेश्वर । रसुवामा एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ परेका छन् ।
रसुवाका प्रहरीका प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका हुन् ।
‘स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो,’ डिएसपी केसीले भने ।

शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए ।
प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको छ ।
उनीहरू दुबै जना र सुनको अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको डिएसपी केसीले जानकारी दिए ।



