गोकुलेश्वर।दार्चुलाको लेकम गाउँपालिका—५ मैखोलीमा भदौ ७ गते गौरा पर्व मनाइने भएको छ ।
लेकम गाउँपालिका—५ मैखोली स्थित मालिकार्जुन मन्दिरमा विधिवत रुपमा भदौ ७ गते (दूर्वाष्टमी) गौरा पर्व मनाइने भएको हो ।
शास्त्र, संस्कृति, परम्परा, रितिरिवाज, विधिवत र शास्त्रसम्मत् अनुसार भदौ ७ गते नै दूर्वाष्टमी (गौरा) पर्व मनाउने लेकम गाउँपालिका—५ मैखोली गैरका स्थानीय तथा अठोला परिवारका सदस्य बिष्णुदत्त जोशीले बताए ।
‘संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त अठोला पात्रोे अनुसार गौरा पर्व भदौ ७ गते नै मनाउनु शास्त्रसम्मत् हुन्छ ।’

उनले भने,‘गौरा पर्व शास्त्रीय मान्यता अनुसार अगस्तीको उदय पछि मनाउन अशुभ हुने भएकाले अगस्तीको उदय भाद्र २० गते भइसक्ने हुँदा भदौ ४ गते बिरुडा पञ्चमी र भदौ ७ गते दुर्वाष्टमी व्रत (गौरा) पर्व मनाउन अति उत्तम हुन्छ । हामी सोही अनुसार भदौ ७ गते मैखोलीको मालिकार्जुन मन्दिरमा गौरा पर्व मनाउँछौं ।’
जिल्लाको दुहु गाउँपालिका पनि भदौ ७ गते गौरा पर्व मनाइने छभने जिल्लाका अन्य ठाउँहरुमा भदौ २१ गते गौरा पर्व मनाइने भएको छ ।
ज्योतिषहरूनै आपसमा विभाजित भएपछि दार्चुलामा यो वर्ष भदौ ७ र २१ गते दुई दिन गौरा पर्व मनाइने भएको छ ।
एउटै तिथिमितिमा हुनुपर्ने गौरापर्व यो वर्ष ज्योतिषहरूको फरकफरक दृष्टिकोणका कारण दुई तिथिमितिमा हुने भएको हो ।
पञ्चाङ्ग निर्णायक समितिले ७ गते र मानसखण्ड पात्रोमा आधारित ज्योतिषहरूले २१ गते गौरा मनाउने भनेपछि दुई तिथिमितिमा गौरा पर्व हुन लागेको हो ।



