गोकुलेश्वर । शनिबार नेकपा एमाले कञ्चनपुरको कार्यालय परिमैं एमाले कार्यकर्ताहरुबाट कुटिएका भीमदत्त नगरपालिका–१८ का वडाअधयक्ष रविन्द्र देवकोटालाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।
एमालेका युवा संगठन युवा संघ नेपालको १० औं जिल्ला अधिवेशनको निर्वाचन कमिटीमा रहेका देबकोटालाई एक पक्षका युवाले मरणासन्न हुने गरी कुटेपछि उनलाई शनिबार नै धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।

देबकोटाको अवस्था गम्भीर रहेको भन्दै परिवारजनले उनलाई साँझ ४ बजेको उडानबाट काठमाडौं लैजाने तयारी गरेको वडाअध्यक्षको मोबाइल उठाइरहेका एमाले नेता विष्णु कँडेलले जानकारी दिए ।
अस्पतालले भने अवस्था गम्भीर भए पनि देबकोटालाई काठमाडौं लैजानु पर्ने अवस्था नरहेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार परिवारजनको अनुरोधमा उनलाई रेफर गरिएको हो ।
अहिले माया मेट्रोमा एमालेजनको भीड लागेको बताइएको छ । भीडमा देबकोटाको पक्ष र विपक्ष दुबैतर्फका नेता कार्यर्ता रहेका छन् ।
यता, देबकोटामाथि भएको आक्रमणको किटानी जाहेरी दर्ता गरी अनुसन्धान सुरु गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।



