गोकुलेश्वर । प्रधानमन्त्री पुष्पकमल दाहालले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सकारमा सहभागि गराई मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।
जनमत सरकारमा सहभागी हुने भएपछि माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने पक्का जस्तै भएको छन् ।
प्रधानमन्त्री दाहाल आइतबार जनमतबाट मन्त्री नियुक्त गर्ने छन् । सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति भएको छ । असार अन्तिम साता नै भएको सोही सहमति अनुसार जनमतले एक मन्त्री पाउने भएको हो ।

सरकारमा हाल माओवादीबाट ६ मन्त्री र एक राज्यमन्त्री छन् । जनमत पार्टीले मन्त्रीमा अनितादेवी साहको नाम २६ असारमै प्रधानमन्त्रीलाई बुझाएको थियो । तर, २७ असारको बिहानै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि साह मन्त्रीमा नियुक्त हुन सकेकी थिइनन् ।
जनमत सरकारमा आउने भएपछि माओवादीका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमध्ये एकलाई हटाउने तयारी छ ।
मोदी र किराँती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री दाहाल सुरुदेखि नै सन्तुष्ट छैनन् । मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेको चर्चा छ ।
किराँतीले पनि काम भन्दा हल्ला बढी गरेको निस्कर्ष बालुवाटारको छ । उनी हरेक कुरालाई फेसवुकमा प्रचार गर्ने, इगो राखेर काम गर्ने, नेतृत्वको कुरालाई वेवास्ता गर्ने र कसैको सल्लाहलाई पनि सामाजिक सञ्जालमा ल्याएर प्रचार गर्ने प्रवृत्तिले प्रधानमन्त्रीको नजरबाट गिरेको स्रोत वताउँछ ।
पछिल्लो पटक लुम्विनी विकास कोषको उपाध्यक्ष नियुक्तिका विषयमा पनि मन्त्री किराँती र प्रधानमन्त्री दाहालबीच टसल परेको थियो। प्रधानमन्त्रीले ल्यारक्याल लामालाई उपाध्यक्ष बनाउने गरी तयारी गर्न निर्देशन दिएपनि किराँतीले भने तिब्बतीयन नागरिक एवम गायीका आनी छोईङ डोल्माको नाम अगाडि सारेका थिए ।
