No.1 News Portal from Sudurpashchim Province
bajaj

पहिरोका कारण भीमदत्त राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती

गोकुलेश्वर । भीमदत्त राजमार्ग पहिरोका कारण चार दिनदेखि अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ ।

 सोमवार राजमार्गको बूढीतोला खण्डमा गएको पहिरोका कारण सडक सञ्चालनमा आउन नसकेको हो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ । दुईतर्फी गाडी सञ्चालन हुन नसकेपछि यात्रु चार दिनदेखि बीच बाटोमै अलपत्र परेका छन् ।

डोटीबाट विशेष कामले धनगढीतर्फ आउँदै गरेका मीनराज जोशी बाटोमै अलपत्र पर्दा निक्कै दुःख पाएको बताउनुहुन्छ । ’अवरुद्ध सडक खुल्ला र धनगढी पुगेर आफ्नो काम गरौँला भनेर बाटोमै पर्खी बसेका छौँ’, उहाँले भन्नुभयो, ’आज चार दिन भइसक्दासम्म बाटो नखुल्दा गोजीमा बोकेको खर्च सकिएर समस्यामा परेका छौँ ।’

pm office

यता, पहिरो पन्छाएर गाडीको आवागमन शुरु गराउने प्रयास गरिरहेको भए पनि निरन्तरको वर्षाले काम प्रभावित भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताउनुभयो । उहाँले लगातार वर्षा भइरहँदा पहिरो पन्छाउने काम प्रभावित भएको बताउनुभयो ।

’पहिरो र भासिएको सडक खण्डको ८० प्रशित भागलाई आवागमन गर्न सकिने बनाइसकेका छौँ’, उहाँले भन्नुभयो, ’पूरै पहिरो पन्छाएर बाटो सञ्चालन गर्न वर्षामा भर पर्नुपर्छ ।’

यो सडक खण्डको झण्डै चार सय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको छ भने एक सय मिटर सडक भासिएको छ । पहिरो खस्दा नजिकैका सात÷आठ घरपरिवार रहेको बस्ती पनि जोखिममा परेको छ । सडक डिभिजन कार्यालयले तीन वटा एक्स्काभेटर र दुई लोडर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।

सडक अवरुद्ध हुँदा खाद्यान्न, औषधि, साग, तरकारीलगायत सामानको आपूर्ति रोकिएको छ । बाटो अवरुद्ध हुँदा मालवाहक गाडी बीच बाटोमै रोकिएका छन् । यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा बढी गाडीको आवागमन हुने गर्छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बूढीतोला सडक खण्डको स्थलगत अवलोकन गर्दै छिट्टै राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.