डिआइजी नेतृत्वको टोलीले गर्यो छाङरु र तिंकरको निरीक्षण, हेलिकप्टरद्धारा प्रहरी र खाद्य सामग्री पठायोे
गोकुलेश्वर। दार्चुला जिल्लाको ब्याँस गाउँपालिका -१ को उत्तरी नाका तिंकरमा नेपाल प्रहरीको टोली खटिएको छ । गत मंसिरमा तिंकरको छायालेकबाट तल झरेको प्रहरीलाई हेलिकप्टरमार्फत शनिवार तिंकर पठाइएको हो ।
नेपालतिर भएर तिंकर पुग्न सकिने अवस्था नरहेपछि हेलिकप्टरमार्फत प्रहरी र खाद्य सामग्रीसहित तिंकर पठाइएको हो । तिंकरको छायालेकमा प्रहरीका सई हर्क महताको नेतृत्वमा १३ जनाको टोली खटाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।
तिंकर सीमा प्रहरी चौकीमा खटिने प्रहरी जनशक्ति र खाद्यन्नसहित बन्दोबस्तीका सामग्री लगेर हेलिकप्टर तिंकरमै चौकी अवतरण गराइएको हो । नेपालको भूमि भएर तिंकर पुग्न पाँच दिन लाग्ने भएपछि सरकारले हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाएको हो ।
हेलिकप्टरमार्फत सुरक्षाकर्मी तिंकर पठाउन जिल्ला सुरक्षा समितिले गृहमन्त्रालयलाई आग्रह गरेको थियो । पैदल जान निकै कठिनाई पनि छ । खाद्यान्न, हातहतियार र बन्दोबस्तीको समान लिएर जान सकिने अवस्था नभएपछि हेलिकप्टरमार्फत पठाइएको डिएसपी भट्टले बताए।

मंसिर महिनामा छागरु झरेको नेपाल प्रहरीको टोली माथि उक्लिन सकेको थिएन् । यस्तै सीमा प्रहरी चौकी सीतापूलमा असई प्रकाश सिंहको नेतृत्वमा टोली खटाइएको छ। सीतापूलमा यो वर्ष बाह्रै महिना प्रहरी बसेको थियो।
सीतापूलको लागि इन्चार्ज र थप ५ जनाको टोली पठाइएको छ । हेलिकप्टरले ८ पटक ढुवानी गरेको थियो । हेलिकप्टरमार्फत प्रहरीको लागि ६ महिना पुग्ने खाद्यान्न, बन्दोबस्तीको समान पठाइएको डिएसपी भट्टले बताए ।
छायालेकबाट ४ घण्टाको पैदल बाटोमा नेपाल चीन सीमा स्तम्भ पिलर नम्बर १ रहेको छ । छायालेक प्रहरीले तिंकर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ । यस्तै व्याँस गाउँपालिकाको १ को छांगरु र तिंकरमा नेपाल प्रहरीका डिआईजी नेतृत्वको टोलीले निरीक्षण गरेको छ ।
अहिले नेपाल प्रहरीको सीतापूलमा प्रहरीको भवन निर्माण सुरु हुँदै छ । भवन निर्माणको अवस्था, प्रहरीले भोग्नुपरेको समस्याबारे जानकारी लिन पहिलो पटक डिआईजी अधिकारी नेतृत्वको टोलीे तिंकर प्रहरी चौकी पुगेको हो ।
निरीक्षणको क्रममा डिआइजी अधिकारीले सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्षम रहेको र कठिन परिस्थितिमा पनि प्रहरीले जनताको सेवामा खटिनुपर्ने भन्दै उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई निर्देशन दिए।
डिआइजी अधिकारीसँगै व्याँसको निरीक्षणको लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति नरेन्द्र वम, जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्ट लगायतले निरीक्षण गरेको छ ।



