No.1 News Portal from Sudurpashchim Province
bajaj

५४ किलोको टल्कने ढुंगाले गोरखामा तरङ्ग

गोकुलेश्वर । प्रहरीले स्थानीय एक व्यक्तिको घरबाट चम्किलो ढुंगा बरामद गरेपछि डेढ महिनादेखि गोरखा तरङ्गित छ ।

गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान र राममाया शाही दम्पतीको घरबाट प्रहरीले टल्कने ढुंगा बरामद गरेको थियो । ५४ किलो तौल भएको यो ढुंगा प्रकाश दिँदा चम्किलो देखिन्छ । शाहीको घरमा रातो कपडाले बेरेर यो ढुंगा राखिएको थियो । शाही परिवारले पुस्तौंदेखि यो ढुंगालाई घरभित्रै राखेर देउताका रूपमा आफूहरूले पूज्दै आएको बताएका छन् ।

तर असार दोस्रो सातादेखि शाहीको घरमा मानिसको ओहोरदोहोर बाक्लिन थाल्यो। सामाजिक सञ्जालमा ढुंगाको तस्बिर देखेकाहरू प्रत्यक्ष रूपमा ढुंगा हेर्न उनको घरमा पुगेका थिए । शाही परिवारले पुस्तौंदेखि घरभित्र राखेको ढुंगाको तस्बिर केही समयअघि सामाजिक सञ्जालमा राखिएको थियो ।

चन्द्रमान र राममायाका छोरा सुरेशले एकदिन ढुंगा बेरेको रातो कपडा निकालेर तस्बिर खिचेका थिए। आफूले खिचेको तस्बिर उनले सामाजिक सञ्जालमा राखेका थिए भने चिनेजानेकाहरूसँग पनि तस्बिर देखाउँदै यो के होला भनेर जिज्ञासा राख्ने गरेका थिए ।

pm office

चम्किलो ढुंगा हेर्न शाहीको घरमा मान्छेको घुँइचो लाग्न थाल्यो। लाखौंमा यो ढुंगा बिक्री गर्न मोलमोलाइ हुन थालेको सूचना जिल्ला प्रहरी कार्यालयमा पनि पुग्यो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको प्रहरी टोलीले असार १४ गते सतिपिपलस्थित शाहीको घर पुगेर ढुंगा बरामद गरेका हो ।

प्रहरीले बरामद गरेपछि यो ढुंगाको चर्चा झन् चुलियो। प्रहरी, प्रशासनले पुरातत्व विभाग वा खानी तथा भूगर्भ विभाग लगेर ढुंगा परीक्षण गर्नुपर्ने बताएपछि केही विवाद पनि भए ।

शाही परिवारले आफूहरूको देउता प्रहरीले फिर्ता गर्नुपर्ने अडान राखेको छ । गोरखाका स्थानीयले पनि चम्किलो ढुंगालाई परीक्षणका लागि अन्यत्र लैजानेभन्दा पनि गोरखामै राखिनुपर्ने माग गरेका छन् । बहुमूल्य हो भने गोरखा संग्रहालयमा सबैले अवलोकन गर्न मिल्ने गरी ढुंगा राखिनुपर्ने गोरखाबासीको भनाइ छ ।

प्रशासनले ढुंगा परीक्षण गर्न जिल्ला बाहिर पठाउन सम्भव नदेखेपछि खानी तथा भूगर्भ विभागको टोलीलाई नै गोरखा बोलाएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले ढुंगा परीक्षण गर्न खानी विभागका दुई जना भूगर्भविद् सोमबार गोरखा आएको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.