गोकुलेश्वर । रूकुम पश्चिममा बाहिरबाट ताल्चा लगाएको घरभित्र एक जना महिला मृत फेला परेकी छन् । मुसिकोट नगरपालिका–१ सल्लेकी ५१ वर्षीया हस्तकली बुढाथोकी गएराति मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बाहिरबाट ताल्चा लगाएको आफ्नै घरभित्र बुढाथोकी मृत अवस्थामा फेला परेको बताए। उनका अनुसार घटना शंकास्पद छ ।
मृतक बुढाथोकीका एक जना छोरा जापानमा र एक जना बाँकेको नेपालगंजमा बस्ने हुँदा उनी घरमा एक्लै बस्दै आएकी थिइन्। उनका श्रीमानले केही वर्ष पहिले आत्महत्या गरेको भन्ने खुलेको डिएसपी भट्टराईले बताए ।
घटनाको अनुसन्धानका लागि प्रहरीले बाँकेको कोहलपुरबाट तालिमप्राप्त कुकुर झिकाएको छ। उक्त तालिम प्राप्त कुकुर आइनसकेकोले घटनास्थललाई गएरातिदेखि नै सुरक्षित राखिएको डिएसपी भट्टराईले बताए ।

प्रहरीले घटनास्थलमा केही नचलाएको उनले बताए ।
‘कानबाट रगत आएको देखिन्छ,’ उनले भने, ‘कानको सुन, गलामा लगाएको पोते र हातको सुनको औंठीहरू लगाएको देखिएको छ । तर हालसम्म बुढाथोकीले प्रयोग गर्ने मोबाइल फेला परेको छैन ।’
उनका अनुसार दाङको तुलसीपुरबाट शुक्रबार साँझ बुढाथोकीकी भदैनी आएकी थिइन्। भदैनीले मृतक बुढाथोकीलाई पटकपटक फोन गरेकी थिइन् ।
तर फोन नउठाएपछि उनले नजिकै रहेका काका नाता पर्नेलाई बोलाएकी थिइन्। उनीहरूले ढोका फोडेर घरभित्र हेर्दा बुढाथोकी मृत फेला परेको डिएसपी भट्टराईले बताए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
‘बाहिरबाट ताल्चा लगाएको रहेछ,’ भट्टराईले भने, ‘उनीहरूले ढोका फोडेर भित्र हेर्दा बुढाथोकीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको भन्ने छ ।’
शुक्रबार राति करिब सवा दश बजेतिर सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



