No.1 News Portal from Sudurpashchim Province
bajaj

बोक्सी आरोपमा बर्बर यातना, न्याय  खोज्दा बनाइयो गाउँ निकालाको तमसुक

गोकुलेश्वर । श्रीमानले अघिल्लो रात निर्घात कुटपिट गरेपछि काजल गत १ साउनमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पुगेकी थिइन । प्रहरीले दुवै पक्षसँग छलफल गर्ने भन्दै ४ साउनमा आउन भन्यो । न्याय पाइने आससहित काजल प्रहरी कार्यालय पुगिन् । जहाँ सामान्य छलफल चले पनि सहमति जुटेन । प्रहरीले ‘थप आपसी छलफल गर’ भन्दै कार्यालयबाहिर पठायो । छलफलमा आएका प्रायः सबै विनोदका पक्षमा उभिए । निरीह काजललाई पैसा लिएर श्रीमान्सँग सम्बन्ध तोड्न भनेर फकाउनेदेखि धम्क्याउनेसम्म गरियो । 

pm office

श्रीमानसहित परिवारका सदस्यले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएपछि महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी देवी उजुरीसहित जिल्ला प्रहरी कार्यालय गइन् । शरीरभरि नीलडाम थियो । तर, प्रहरीले यातना दिने उनका श्रीमान् विनोदकुमार दासलाई बोलाएर सामान्य सोधपुछसमेत गरेन । बरु, तीन दिनपछि दुवै पक्षलाई छलफलका लागि बोलायो । न्याय खोजिरहेकी काजलमाथि त्यस दिन थप जघन्य अन्याय भयो । निरक्षर उनलाई जनप्रतिनिधिकै रोहवरमा प्रहरी कार्यालयबाहिर झुक्याएर सम्बन्ध–विच्छेदसहित गाउँ निकालाको तमसुक बनाइयो । 

निरक्षर काजललाई ल्याप्चे लगाउन बाध्य पारिएको तमसुकको अन्त्यमा भनिएको छ, ‘… साक्षी किनाराको सदर म काजलकुमारी दास नगद एक लाख पाँच हजार रुपैयाँ (भारु) बुझी पिपरा गाउँ छोडिदिनेछु । मैले फेरि विनोदकुमार दासउपर कुनै प्रकारको दाबी गर्नेछैन, नाता–सम्बन्ध राख्नेछैन ।’ एक लाख पाँच हजार पनि अंश नभई विनोदसँग परेको विवादको पैसा लिइएको उल्लेख गरिएको छ । जाली तमसुकमा पिपरा गाउँपालिका– १ का वडासदस्य किसुनी दास, वडा नम्बर ४ की सदस्य रितादेवी महरा तथा स्थानीय श्यामसुन्दर दास र चन्द्रादेवी महरा साक्षी छन् । तमसुक लेखनदास सुरेन्द्र मुखियाले लेखेका हुन् । 

बोक्सी आरोपमा दैनिकजसो भइरहेको कुटपिटबाट आजित भएकी काजलले पनि श्रीमान्सँग नबस्ने, बरू आफैँ कुनै व्यवसाय गरेर बाँच्ने निधो गरिन् । त्यसका लागि श्रीमान् विनोदले आर्थिक सहयोग गर्ने सहमति भयो । तर, पैसा दिएर छुट्टाछुट्टै बस्ने सहमति गरेको कागज प्रहरी कार्यालयमा बनाउन नमिल्ने भन्दै लेखनदास बोलाएर बाहिर नै कागज बनाउने भनियो । तर, त्यसमा सहमति भएका विषय होइन, श्रीमान्का पक्षबाट अबउप्रान्त कुनै सम्बन्ध नरहने, अंश नलाग्ने र काजलले पिपरा गाउँसमेत छोड्ने तमसुक बनाइयो । काजल अहिले वडासदस्य रितादेवी महराको घरमा शरण लिएर बसेकी छिन् ।

‘प्रहरीले छलफल गर्न बाहिर पठायो, श्रीमान्ले मलाई व्यवसाय गर्न क्षतिपूर्ति दिने र सँगै नबस्ने कुरा भयो । दिनदिनैको यातना खेप्नुभन्दा दुःख गरेर पनि छुट्टै बस्छु भनेर मैले पनि हुन्छ भनेँ । बाहिरै कागज बनायो र मलाई औँठाछाप लगाउन भनियो । त्यसमा के–के लेखिएको थियो मलाई थाहा थिएन । क्षतिपूर्तिको पैसाको कागज भनेर छाप लगाए,’ काजलले नयाँ पत्रिकासँग भनिन्, ‘त्यहाँबाट रिता दिदी (वडासदस्य)सँगै उहाँको घर फर्केँ । घर आएर राति रिता दिदीको छोराले कागज पढेर सुनाएपछि मात्र थाहा भयो– मलाई धोका दिएर कागजमा सही गराएको रहेछ भनेर ।’ 

 

बाहिर तमसुक बनाएर प्रहरी कार्यालयभित्र गएपछि भने उनीहरूले ‘अबउप्रान्त झैझगडा र कुटपिट नगर्ने भन्दै सहमतिमा पुगेको’ जानकारी गराए । प्रहरीले सोहीअनुसार कागज गरिदिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए । प्रहरीमा गरिएको कागज ‘गोप्य रहने भएकाले अदालतबाहेकमा दिन नमिल्ने’ उनको भनाइ छ । 

तमसुकमा साक्षी बसेका वडासदस्य रितादेवी र चन्द्रादेवीले पनि आफूहरू पढ्न नजान्ने भएकाले काजललाई सम्बन्ध–विच्छेदसहित गाउँ निकाला गर्ने र अंश नदिने भनेर बनाइएको तमसुकमा झुक्याएर हस्ताक्षर गर्न लगाइएको बताए । लेखनदासले तमसुकको व्यहोरा पढेर नसुनाएको र आफूहरूमाथि छल गरिएको उनीहरूको भनाइ छ । 

‘छलफल हुँदा काजललाई क्षतिपूर्तिबापत एक लाख पाँच हजार भारु दिने र उनले त्यो पैसाबाट व्यवसाय गरेर जीविकोपार्जन गर्ने सहमति भएको हो । त्यही सहमति भएको भनेर हस्ताक्षर गर्न भनियो । तर, तमसुकमा अंश नलाग्ने, सम्बन्ध नरहने र काजलले पिपरा गाउँ पनि छोडेर जानुपर्ने लेखिएको रहेछ । त्यो कुरा घर आएर छोराले पढेर सुनाएपछि मात्रै थाहा पाएँ,’ रितादेवीले भनिन्, ‘म पढे–लेखेको छैन, आफ्नो नाम त बल्लबल्ल लेख्न सक्छु । काजलमाथि ठूलो अन्याय भयो, माथि–माथि छल गरियो ।’

तमसुकमा हस्ताक्षर गरेकी स्थानीय चन्द्रादेवीले पनि आफूलाई झुक्याएर तमसुकमा हस्ताक्षर गर्न लगाएको बताइन् । रितादेवी र आफूले पीडितसँगै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेर तमसुक बनाउँदा गरिएको छलकपटबारे जानकारी गराएको उनले बताइन्  । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीपकुमार गिरीले प्रहरी कार्यालयमा दुवै पक्षले आगामी दिनमा मिलेर बस्ने, श्रीमान्ले कुटपिट नगर्ने सहमति मात्रै गरेको बताए । प्रहरी कार्यालयबाहिर झुक्याएर गाउँ निकाला गर्ने तमसुक बनाउनेजस्तो अपराध क्षम्य नहुने उनले बताए । ‘प्रहरीले सम्बन्ध–विच्छेद र गाउँ निकालाको कागज गराएको छैन, गराउने कुरा पनि हुँदैन । प्रहरी कार्यालयमा दुवै पक्षले आगामी दिनमा मिलेर बस्ने, श्रीमान्ले कुटपिट नगर्ने सहमति गरेका हुन् । प्रहरी कार्यालयबाहिर गरिएको कागज आधिकारिक हुँदैन, त्यो वैध होइन । झुक्याएर कागज गराएको भनेर जाहेरी परेमा प्रहरीले अनुसन्धान गर्छ । कसैलाई पनि कुनै पनि बहानामा गाउँ निकाला गर्ने भन्ने विषय क्षम्य हुँदैन,’ डिएसपी गिरीले भने । 

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्यसमेत रहेकी अधिवक्ता मोहना अन्सारीले पीडित काजललाई थप दबाबमा राखिराख्न तमसुक बनाइएको हुन सक्ने बताइन् । ‘वडासदस्यको रोहवरमा सम्बन्ध–विच्छेद, अंश छाडेको भनेर निर्णय हुने होइन, अदालती प्रक्रिया हुन्छ,’ उनले भनिन्, ‘मुद्दा–मामिला लाग्छ भनेर उनलाई तर्साएको हुन सक्छ, न्याय माग्न नसक्नेलाई यसरी झुक्याएर तमसुक गरेको देखिन्छ । यो तमसुकले कुनै वैधता पाउँदैन । वडासदस्यको रोहवरमा अत्यन्त निन्दनीय काम भएको छ ।’ 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.