गोकुलेश्वर । चुनावअघि र त्यसपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाललाई इतिहासमै सम्झनलायक बनाउने इच्छा व्यक्त गर्दै आएका छन् । केही चर्चित भ्रष्टाचारका मुद्दामा ‘हाई प्रोफाइल’लाई समेत पक्राउ गरी मुद्दा अघि बढाएपछि अघिल्ला कार्यकालभन्दा यसपटक प्रचण्डप्रति सकारात्मक धारणा राख्ने धेरै छन् ।
१७ साउनदेखि सुरु माओवादी केन्द्रको पूर्ण बैठकमा भने उनीमाथि परिवारवादको आरोप लाग्यो । भएका राम्रा काम पनि ‘छोरी–ज्वाइँ’का कारण छायामा परेको भन्दै केन्द्रीय सदस्यहरूले चर्को आलोचना गरेका छन् । खासगरी, प्रचण्डले आफ्नै छोरी गंगा दाहाललाई स्वकीय सचिव राखेकोमा असन्तुष्टि पोखिएको छ । प्रधानमन्त्री प्रचण्डमाथि लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउन छोरीलाई सचिवालयमा राखिएको गम्भीर आरोप लागेको छ ।
बैठकको पहिलो दिन नै माओवादी केन्द्रको प्रवास कमिटीका सह–इन्चार्ज लक्ष्मण पन्तले प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छोरी–भतिजलाई किन सचिवालयमा राखेको भन्दै प्रश्न उठाएका थिए । ‘अध्यक्ष आफैँ रुपान्तरण नभई माओवादी पार्टी बन्दैन,’ उनले बैठकमा भनेका थिए, ‘अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्नै छोरी र भतिजलाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउन सचिवालयमा राखेका हुन् ? यस्तो होइन भने माओवादीमा धेरै नेता–कार्यकर्ता छन् । किन प्रमुख स्वकीय सचिव बनाउनु हुन्न ?’
प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगा स्वकीय सचिव छिन् । गृहमन्त्री श्रेष्ठले भतिज सुरेशकाजी श्रेष्ठलाई स्वकीय सचिवालयमा राखेका छन् । पन्तभन्दा एक कदमअघि बढेर केन्द्रीय सदस्य तथा प्रवास कमिटी अध्यक्ष ओम शर्माले प्रचण्डले प्रधानमन्त्री भएर गरेका राम्रा काम उनकै छोरी–ज्वाइँले खाइदिएको टिप्पणी गरेका छन् ।
‘ज्वाइँलाई रोएको भरमा मन्त्री बनाउने ? जनताका छोराछोरी संगठन बनाउन गाउँ–गाउँ जाने, तपाईंका छोरी–ज्वाइँ पार्टी बनाउन जान्छन् ?,’ उनले भनेका थिए । शर्माले प्रचण्ड र माओवादी नेताहरूको सम्पत्ति छानबिनको मागसमेत गरे ।
गंगा–जीवन किन आलोचित ?

२०६५ र २०७३ मा प्रधानमन्त्री हुँदा प्रचण्डको सचिवालयमा उनका छोरा प्रकाश दाहालले सघाउँथे । तर, २०७४ मा उनको निधन भएपछि कान्छी छोरी गंगा सचिवालयमा सक्रिय छिन् । १० पुस २०७९ मा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएपछि उनी स्वकीय सचिवमा नियुक्त भइन् । माओवादी केन्द्रमा ‘युद्धका बेला शहीद हुन जनताका छोराछोरी खोज्ने, सत्तामा पुग्दा आफ्नै छोराछोरी–भाइभतिज राख्ने’ गरिएको भन्दै लामो समयदेखि विरोध हुँदै आएको छ । प्रचण्ड मात्र होइन, रामबहादुर थापा बादल, शक्ति बस्नेत, कृष्णबहादुर महरा, जनार्दन शर्मालगायत नेताले मन्त्री वा राजकीय पदमा हुँदा आफन्तलाई नै नियुक्त गर्ने गरेका छन् ।
छोरा प्रकाशको निधन र पत्नी सीता बिरामी भई लामो समय ओछ्यान परेपछि प्रचण्डको सचिवालयमा गंगा हाबी हुन थालिन् । प्रधानमन्त्री कार्यालयका एक अधिकारी भन्छन्, ‘गंगा म्याडम अब क्याबिनेट बैठकमा मात्र बस्न बाँकी छ । अन्यत्र बस्न मिल्ने÷नमिल्ने सबै ठाउँमा उपस्थित भइदिनुहुन्छ ।’
गंगामाथि बिचौलियाहरूको संगतमा परेको आरोप छ । त्यसैलाई संकेत गर्दै केन्द्रीय सदस्य पन्तले ‘लुटको आतंक र लेनदेनको हिसाब मिलाउन’ छोरी राखेको आरोप लगाएका हुन् । अहिले बालुवाटारमा गंगा हाबी छिन् । त्यसको सोझो प्रभाव माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलमा पर्दै आएको छ ।
प्रचण्डका छोरी–ज्वाइँ जीवन आचार्य ४ मंसिर २०७९ को निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भई कोशी प्रदेशसभा सदस्यमा निर्वाचित भए । लगत्तै उनी एमाले नेतृत्वको सरकारमा मन्त्री बने । हिक्मत कार्कीको सरकार अल्पमतमा परेर ढलेपछि बनेको उद्धव थापाको ‘असंवैधानिक’ सरकारमा समेत उनी मन्त्रीमा दोहोरिए । सर्वोच्च अदालतले असंवैधानिक रूपमा गठन भएको भन्दै परमादेश दिएपछि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कोशीमा सत्ता गठबन्धनकै सरकार बनेको छ । मन्त्रीमा तेहरिन आचार्यले अन्तिमसम्म पार्टीमा लफडा गरिरहे । जसका कारण बुधबार मुख्यमन्त्री थापाको शपथग्रहण नै सरेको थियो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा पनि गंगा विवादमा परिन् । प्रमुख प्रतिपक्षी दल एमाले मात्र होइन, कूटनीतिका जानकारहरूले समेत औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीका हरेक बैठकमा अस्वाभाविक उपस्थिति देखिएको र मर्यादाक्रमलाई पनि ख्याल नगरिएको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पत्नी साथमा नरहेकाले ‘फस्ट लेडी’का रूपमा गंगाको उपस्थिति रहेको भन्दै संसद र अन्यत्र पनि बचाउ गर्दै आएका छन् । उनले तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको विदेश भ्रमणका क्रममा छोरी सुजाताको उपस्थितिसँग तुलनासमेत गरेका छन् । तर, सुजाता प्रधानमन्त्री कोइरालाकी स्वकीय सचिव भने थिइनन् ।
प्रधानमन्त्री प्रचण्डले १७ जेठमा गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँगको औपचारिक भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउद वा परराष्ट्र सचिव देखिएका थिएनन् । छोरी गंगालाई राखेर प्रचण्डले त्यो भेट गरेका थिए ।
२० फागुन २०७८ को केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले मनोनीत हुने केन्द्रीय सदस्यको सूचीमा छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको नामसमेत राखेका थिए । तर, विरोधपछि त्यो सूची केही समय रोकियो । कमिटीलाई पूर्णता दिँदा भने प्रचण्डले छोरी–ज्वाइँलाई छुटाएनन् ।



