गोकुलेश्वर। विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका प्रतिवादी दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थायी घर भएका उपसचिव हेमराज विष्ट समेत दुईजनालाई सफाइ दिएको छ ।
मंगलबार विशेषले उपसचिव स्तरका विष्ट र उनकी श्रीमती रुबी जिसीलाई समेत यस मुद्दामा अभियोग ठहर नहुने फैसला सुनाएको हो । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट यस्तो फैसला भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विष्ट दम्पत्तिविरुद्ध सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षमा उनको वैध आय १७ करोड ३७ लाख रुपैयाँ हुनुपर्नेमा २४ करोड २४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति, लगानी र व्यय गरेको अख्तियार अनुसन्धानले देखाएर उनीमाथि मुद्दा चलाएको थियो ।
विष्टले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको थियो । मुद्दा दायर भएको डेढ वर्षमै मुद्दा फैसला गर्दै विशेषले सफाइ दिएको छ ।

उनी सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालयका निमित्त वन निर्देशक रहेका वेला उनीमाथि मुद्दा दायर भएको थियो ।
हाल खारेज भइसकेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भ्रष्टाचार गरी झन्डै सात करोड रुपैयाँ अवैध रूपमा आर्जन गरेको अभियोग उनीमाथि थियो ।
विष्ट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत वन उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रहेको देखिएको सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले विष्टमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो ।
विष्ट वैशाख २०५५ देखि सरकारी सेवामा थिए । कात्तिक २०७७ सम्म उनको आयव्यय गणना गर्दा ६ करोड ८७ लाख ५७ हजार रुपैयाँभन्दा बढीको स्रोत खुलाउन नसकेपछि अख्तियारले मुद्दा चलाएको हो ।
राजधानीका साथै भक्तपुरसमेतका विभिन्न स्थानमा विष्ट दम्पत्तिका नाममा जग्गा भेटिएको थियो । श्रीमती रुबीका नाममा दाङ, कैलाली, कञ्चनपुरजस्ता विभिन्न ३२ स्थानमा घर–जग्गा खरिद गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । १९ वटा बैंकमा खाता रहेकोसमेत खुलेको थियो ।



