एजेन्सी। हामीले एप्पल भन्ने बित्तिकै आइफोन तथा कम्प्युटर बनाउने कम्पनी भनेर चिन्छौं । तर,कुनै समयमा एप्पलले जुत्ता पनि बनाएको थियो ।
एप्पलले बनाएको त्यहीँ दुर्लभ जुत्ता ६५ लाख रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको छ । एप्पलले सन् १९९० को दशकमा नेसनल सेल्स कन्फ्रेन्सका क्रममा आफ्ना कर्मचारीहरुलाई सो जुत्ता दिएको थियो ।

एप्पलको इन्द्रेणी लोगो रहेको उक्त जुत्ता सेतो रङको छ भने यसको साइज १०.५ रहेको छ ।
एप्पलले केवल आफ्ना कर्मचारीहरुका लागि मात्र उत्पादन गरेका जुत्ता बिक्रीका लागि बजारमा भने कहिल्यै उपलब्ध गराएन ।
त्यहीँ विशेष जुत्तामध्येको एकजोर जुत्ताको हालै लिलामी भएको हो र त्यसलाई एक खरिदकर्ताले ५० हजार डलर अर्थात् करिब ६५ लाख रुपैयाँ मूल्य तिरेका छन् ।
ती जुत्ता कसैले पनि प्रयोग नगरेको अवस्थाका भए पनि निकै पुरानो भएको हुँदा केही दाग भने लागेको छ । बक्समा रहेका जुत्तामा एकजोर रातो रंगका अतिरिक्त तुना पनि रहेका छन् ।



