गोकुलेश्वर । साउन २ गते विमानस्थल भन्सारबाट एक सय किलो सुन पास भएको प्रकरणमा नेपालमै नभएका भन्सार प्रमुख अरुण पोखरेल अनुशन्धानमा तानिएका छन् ।
विमानस्थल भन्सार प्रमुख पोखरेलले नियम विपरित र शंकास्पद रुपमा दुई महिना लामो बिदा लिएको देखिएको छ । उनले विरामी विदा मागेका थिए। उपचारका लागि चीन जाने भनेका उनी अहिले चीनमा पनि नरहेको वताईएको छ। उनी भन्सारका अन्य कर्मचारीको सम्पर्कमा समेत छैनन् ।
भन्सार प्रमुख पोखरेलले असार १७ गतेदेखि भदौ १७ गतेसम्मको लागि बिदा लिएको जनाइएको छ । उनको बिदा विभागीय प्रमुखले स्वीकृत गर्न सक्छन । तर, नियम विपरित आएकाले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले त्यो निवेदनलाई अर्थ मन्त्रालय पठाएका थिए ।

त्यसैले सो बिदाको निवेदन अर्थसचिव अर्जुन पोखरेलसम्म पुगेको थियो। निजामती सेवा नियमावली अनुसार बिरामी बिदा सुरुमा सात दिन र त्यसपछि आवश्यकताअनुसार दिनुपर्ने उल्लेख गरेको छ ।
सात दिनभन्दा बढी अवधिको बिरामी बिदाको माग गर्दा स्वीकृत चिकित्सकको प्रमाणपत्र समेत पेस गर्नु पर्ने ब्यवस्था छ । तर, पोखरेलले सुरुमै दुई महिना लामो बिदा मागेका छन्। यसलाई राजस्व अनुसन्धान विभागले शंकास्पद मानेको छ ।
अर्कोतर्फ उनले बिदा लिनेबित्तिकै सुनको आयात भएको र भन्सार पास भएको विषयमा शंका गर्नु पर्ने अवस्था देखिएको विभागले जनाएको छ । नयाँ दर्ता भएको कम्पनी रेडी ट्रेड प्रालिले ब्रेक प्याडमा हुने ब्रे सु सुनको बनाएर हङकङबाट ल्याएको देखिन्छ ।
सोही प्रकृतिको सामान विभिन्न मितिमा ल्याएको देखिन्छ। विभागले सो कम्पनीको गोदामहरुमा छापा मारेको थियो। जहाँ ठूलो मात्रामा ब्रेक सु बरामद भएको छ । सुन कसको हो भन्ने निचोडमा अहिलेसम्म विभाग पुगेको छैन ।
भन्सार विभागकै आन्तरिक अध्ययनमा विमानस्थलका १५ जनाभन्दा बढी कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएको छ ।



