गोकुलेश्वर । उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न हर्क साम्पाङलाई अन्तरिम आदेश दिएको छ ।

धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता काम नगर्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम दर्ताको कि.नं. ४२१ र ३४५ को जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नू नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’
साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखित रूपमा जवाफ पेस गर्न भनेको छ ।



