No.1 News Portal from Sudurpashchim Province
bajaj

मेरा त बुढाले रक्सी खाँदैनन् गीतले टिकटकपछी युट्युबमा तहल्का मच्चायो

गोकुलेश्वर । रहर थियो जमुना (सनम)लाई हिट गायिका बन्ने । रहर गर्दैमा कहाँ हुन्छ पूरा, भएन । थुप्रै गीत गाइन् । चलेनन् । अपेक्षा गरेकै गीतले साथ दिइरहेका थिएनन् । उनलाई सुरुमा कम्तीमा एउटा हिट गीत दिनु थियो, जसले समाजमा नाम होस् । खल्तीमा थोरबहुत पैसा पनि होस् ।

कस्तो गीत चल्ला ? यस्तै भन्ने थिएन । गीत र भाका कुन बेला कस्तो चल्छ पत्तै हुँदैन । यतिचाहिँ उनलाई थाहा थियो, गाउँसमाजकै कथा समेटिएको, आफैँले देखे÷भोगेको गीत चल्छ । त्यसपछि उनले आफैँले देखेको घटनालाई गीतमा उतारिन् । त्यो पनि आफ्नै घरको ।
“हामी तीनजना दिदीबहिनी हौँ । म माइली हुँ । मेरोभन्दा पहिला नै बहिनी र दिदीको विवाह भइसकेको थियो,” १२ वर्षअगाडिको अर्घाखाँचीको आफ्नो थातथलोमा फर्किइन् जमुना, “बहिनीको घर राम्रो थियो । तर, दिदीको घर राम्रो थिएन । भिनाजु रक्सी खानुहुन्थ्यो । त्यसले घरमा अपेक्षित वातावरण थिएन ।”

त्यही घटनालाई जमुनाले गीतमा उन्न थालिन् । दिनको दुई÷तीन लाइन लेख्दै–लेख्दै करिब १० दिनमा उनले गीत पूरा गरिन् । एकजनाले आफ्नो घरको पीर÷वेदना र अर्कोले सुखको कहानी सुनाउने गीत लेखिन् ।

“विवाह गरेपछि सबैको घर राम्रो हुन्छ भन्ने पनि हुँदैन । कसैको राम्रो हुन्छ, कसैको नराम्रो । यो स्वाभाविक हो । सबैका श्रीमान्ले रक्सी खान्छन् भन्ने पनि हुँदैन । कसैले खान्छन्, कसैले खाँदैनन् । खाँदैमा सबै सकियो भन्ने पनि होइन,” उनी भन्छिन्, “कति आफैँले देखेका कुरा लेखेँ । गीत हो, कल्पना र भावनामा पनि लेखिन्छ । मैले पनि यथार्थको जगमा टेकेर केही कल्पना र भावनात्मक कुरा गीतमा लेखेँ ।”

त्यसपछि उनले सँगै काम गर्ने प्रकाश क्षेत्रीलाई भनिन्– मैले एउटा गीत लेखेको छु, भाका बनाउनुपर्ने थियो ।

प्रकाश क्षेत्रीले जमुनालाई सुझाव दिए– प्रकाश कटुवालले राम्रो भाका बनाउनुहुन्छ, उहाँलाई भन्दा राम्रो होला ।

प्रकाश कटुवालले भाका भरे । गीतको बोल थियो– ओइ सुन्तली ।

०६७ सालमा गीत रेकर्ड गराइन् । सोही वर्षको तिजको छेको पारेर बजारमा ल्याइन् ।

गीतको भिडियो कथा पनि त्यस्तै छ । एक महिलाका श्रीमान्ले रक्सी खाँदैन, सपिङ गराउँछ । अर्को महिलाका श्रीमान् भट्टी जान्छ, रक्सी खाँदै हिँड्छ । गीतले चर्चा बटुल्न थाल्यो ।

देशभर गुन्जिएको गीत घरमा पनि पुग्ने नै भयो । आफन्तले सुन्ने नै भए । अनि आयो, आफन्तकै असन्तुष्टि । ‘आफ्नै घरको गीत लेख्ने ? आफन्तकै गीत लेखेर सार्वजनिक गर्ने ?’ असन्तुष्टि सुनियो ।

“तर, मैले सम्झाएँ– गीतसंगीत भनेको सधैँ काल्पनिक मात्रै हुँदैन । रुमानी कल्पनाको जगमा मात्रै गीत लेखिँदैन । आफूले भोगेका र देखेका कुरा पनि लेखिन्छ भनेँ,” जमुना विगत सुनाउँछिन् ।

pm office

सीडी क्यासेटको समय थियो । एफएमको जमाना थियो । अहिले युट्युबको ट्रेन्डिङ भनेजस्तो त्यो समय एफएमहरूले काउन्ट डाउनका कार्यक्रम प्रसारण गर्थे । एफएमका काउन्ट डाउनमा ‘ओइ सुन्तली’ले बाजी मा¥यो । सीडी क्यासेट ठूलो परिमाणमा बिक्री भए । अन्तर्वार्ता, मेला–महोत्सवमा उनलाई भ्याइ नभ्याइ हुन थाल्यो ।

जमुना त्यो समयमा १२ कक्षामा पढ्थिन् । कलेज, स्टुडियो र कार्यक्रममा आउजाउको माध्यम सार्वजनिक सवारी थियो । गीत र भिडियो यति धेरै लोकप्रिय हुन थाल्यो, उनलाई माइक्रोबसमा यात्रा गर्नै कठिन भयो । जमुनाको जिन्दगीका लागि त्यो गीत टर्निङ पोइन्ट बन्यो ।

“गीतले मेला–महोत्सवमा व्यस्त बनायो । यही गीतको पैसाले मैले तिज सकिएलगत्तै स्वरुममा गएर स्कुटर किनेको थिएँ,” उनले सफलताको कथा सुनाइन् ।

दीपक अधिकारी जमुनाको स्टुडियोमा आइरहन्छन् । उनी टिकटकका लागि क्लिप्स काटिरन्छन् । उनले एक दिन भने– दिदी, म तपाईंको गीतको पनि टिकटकका लागि क्लिप्स काट्छु ल ?

किन हुन्न भन्नु थियो र ! ‘हुन्छ’ भनिदिइन् ।

दीपकले जमुनाको गीतबाट टिकटकका लागि क्लिप्स काटे–
बेलैमाथि घर आउँछन्, बाहिर पनि जाँदैनन्
मेरा त बुढाले रक्सी खाँदैनन् ।

चार दिनसम्म करिब डेढ सयको संख्यामा यसमा टिकटक बनाइएको थियो । जब लाइभ दोहोरी गाउने सुमन थापा र अमृता लामिछानेले यो गीतमा टिकटक बनाए, त्यसपछि टिकटकमा ‘भाइरल’ भयो ।

विना विश्वकर्माले पनि टिकटकका लागि यही गीतको क्लिप्स काटेकी थिइन् । “१२ दिनअगाडि काटेको क्लिप्समध्ये दीपकले काटेकोमा एक लाखभन्दा धेरै र विना बहिनीले काटेको क्लिप्समा ४१ हजारभन्दा टिकटक बनेको छ,” जमुना भन्छिन्, “जम्मा चार लाखभन्दा धेरै टिकटक भिडियो बनेको छ, यो टुक्कामा ।”

यो गीत अहिले जति लोकप्रिय बन्यो, त्यति नै लोकप्रिय १२ वर्षअगाडि पनि भएको जमुना बताउँछिन् । “धेरैलाई अहिले मात्रै यो गीत हिट भयो टिकटकका कारण भन्ने लागेको छ । तर, त्यो बेला पनि त्यति नै लोकप्रिय भएको गीत हो यो,” उनी भन्छिन्, “तर, सत्यचाहिँ के हो भने त्यो बेला यो गीत मेरा लागि करिअरको टर्निङ पोइन्ट बन्यो । अहिले यसले पुनर्जीवन दियो । त्यति बेला धेरैले मलाई तपाईंको यो गीतको सीडी क्यासेट मसँग छ भनेर भन्नुहुन्थ्यो ।”

टिकटकका कारण गीत पुनः एकपटक चर्चित भयो । जसले भेट्छ, यसको पार्ट–२ चाहियो भन्छ । कमेन्ट गर्नेले पार्टु–२ कहिले आउँछ भनेर सोध्छन् ।

“हुन त मैले शब्द र भाका अर्कै भएको गीत तयार पारेको थिएँ,” जमुना भन्छिन्, “तर, सबैले ओइ सुन्तलीको पार्ट–२ ल्याउनुप¥यो भनेपछि आउँदो हप्ता मैले सुन्तली र जमुना नै राखेर यसको पार्ट–२ ल्याउँदै छु ।”

जमुनाले ‘ओइ सुन्तली’ गाउँदा युट्युब थिएन । पछि युट्युबमा गीत राख्ने चलन आयो । तीन वर्षपछि उनको गीत म्युजिक नेपालको युट्युब च्यानलमा राखियो । १२ दिनअगाडिसम्म (करिब नौ वर्ष) यो गीतको युट्युब भ्युज चार लाख ५७ हजार थियो ।

जमुनासँगै रीता केसी र कुशल बेलबासेले गाएको गीत हो, यो । क्लिप्स टिकटकमा हिट भएपछि अहिले युट्युबमा यो गीतको भ्युज साढे सात लाख पुगिसकेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.