गोकुलेश्वर।एक सय किलो बढी सुन तस्करी गरेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन न्यायिक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
उच्च अदालत पाटनले राजश्व अनुसन्धान विभागले पेस गरेका चिनियाँ र भारतीय नागरिकसहित ६ जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

विभागले चार नेपाली, एक भारतीय र एक चिनियाँ नागरिकलाई तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । विभागले बुधवार ५३ वर्षीय रामकुमार भुजेल, २१ वर्षीय दिलीप भुजेल, ४९ वर्षीय हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङलाई पक्राउ गरेको थियो ।
मङ्गलवार ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राई पक्राउ परेका थिए। बिहीबार प्रहरीले चिनियाँ नागरिक लिङ चुवानलाई पक्राउ गरेको थियो।
सुन लुकाएको सामान नेपाल ल्याउन दिलीप भुजेल संलग्न देखिएका छन् । चिनिया नागरिक यो समूहको मुख्य नाइके देखिएका छन् ।
अनुसन्धानकै लागि विभागले नै आरोपीहरूलाई न्यायिक हिरासतमा राख्न बिहीबार म्याद थप गराएको हो ।



