गोकुलेश्वर । कांग्रेस बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई दबाबमा राख्ने धेरैको अनुमान थियो ।
तर, बैठकको परिदृश्य फेरियो । देउवाकै प्रस्तावमा कांग्रेसले सम्भवत : नेपालमै पहिलो पटक पार्टीको बैठक लाइभ गरिरहेको छ ।
महामन्त्री थापा देउवाबाट पार्टी नचल्ने निष्कर्षसहित नेतृत्व परिवर्तनको एजेण्डा जबरजस्त छलफलमा ल्याउने प्रयासमा थिए । तर, अहिले बैठकमा महामन्त्री थापाले प्रस्तुत गरेको एक वर्षे कार्ययोजनामै केन्द्रित भएर छलफल चलिरहेको छ । महामन्त्री थापाले प्रस्तुत गरेको कार्ययोजना पनि कार्यान्वयनमा नेताहरुले उत्तिकै आशंका गरेका छन् ।
शीर्ष तहबाट तय भएको कांग्रेसका १० वटा एजेण्डामा अहिले छलफल भइरहेको छ । छलफलमा नेताहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।
पार्टी बैठकमा एउटा कुरा गर्ने तर बाहिर महामन्त्री थापाले मिडियामा आफू अनुकूल प्रचार गर्ने आरोप लागिरहेको बेलामा देउवाले बैठक लाइभ गर्ने रणनीति अख्तियार गरेको कतिपयको विश्लेषण छ ।
बैठकमा गगनले स्थापित गराउन खोजेको नेतृत्व परिवर्तनको एजेण्डालाई इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले नै अंगीकार नगरेपछि गगन अप्ठेरोमा परेका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित केही युवा नेताहरुको मात्रै साथ छ ।
नेताहरुले अब गुटभन्दा माथि उठेर पार्टी निर्माणमा लाग्न दबाब बढाएका छन् । कोइराला १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए । उनी आगामी महाधिवेशनबाट सर्वसम्मत नेतृत्वमा पुग्ने लक्ष्यका साथ अहिले मौन बसेको कतिपयको बुझाइ छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागू हुन्छ कि हुँदैन भनेर प्रश्न गरे ।
उनले भने, ‘एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा आफ्ना धारणाहरू व्यक्त गर्दैगर्दा के राम्रो गरेको छ ? त्यसैले यहाँ लगाममा धेरै छैन, तथानाम छ । जे पायो त्यही गरिएको छ ।’
यस्तै अर्की केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयको विकल्प खोज्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिइन् । उनले भनिन्, महामन्त्रीद्वयले पनि दायरा फराकिलो बनाउनुपर्छ ।
जसरी तपाईंहरू कसैको विकल्प खोज्ने भन्दै हुनुहुन्छ, तपाईंहरूको विकल्प खोज्ने दिन आउँछ, हेक्का राख्नुहोस् ।’
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाणको बचाउमा नेताहरु उत्रिएका छन् । बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टी नेता पक्राउ गर्दा गृहमन्त्रीलाई धन्यवाद दिन गएकोप्रति आलोचना गरिन् ।
उनले भनिन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा कांग्रेसका केन्द्रीय सदस्य तथा नेताहरु गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो थाहा छैन ।
के कारणले पुग्नुभयो, थाहा छैन । त्यस्तो अभियोग लागेको अमूक पार्टीको नेताका बारेमा प्रश्न उठ्दा उहाँहरु केही बोल्नुहुन्न, उहाँहरुको मुख फुट्दैन । बोली फुट्दैन ।’
यस्तै अर्की केन्द्रीय सदस्य राधा घलेले दोषी सावित नभएसम्म एउटालाई पर्दा पार्टीका अन्य साथीहरुले साथ दिनुपर्ने बताइन् ।
यस्तै कांग्रेसको बैठकमा कोशी प्रदेशको नामकरण र सरकार गठनबारे धारणा माग भएको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘कोशी प्रदेशको नामकरण र प्रदेश सरकार गठनको विषयमा सबैले सोध्दा नेपाली कांग्रेसले धारणा के हो, भन्न गाह्रो भइरहेको छ ।’



