गोकुलेश्वर । पार्टीभित्रको आन्तरिक विवादको कारणले सभापति शेरबहादुर देउवाले बैठक टार्दै आएका छन् । बैठकको एजेण्डा अझै निश्चित छैन । नेपाली कांग्रेसको विधानमा केन्द्रीय समितिको बैठक प्रत्येक दुईदुई महिनामा बस्नुपर्ने व्यवस्था भए पनि एक वर्षपछि मंगलबार बस्दैछ ।
देउवाको कारणले नीति महाधिवेशन हुन नसकेको निष्कर्षसहित महामन्त्री गगन थापाले विशेष महाविधेशनको माग गर्न थालेका छन् । देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व रुपान्तरण गर्नुपर्ने उनको बुझाइ छ । देउवाबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित महामन्त्री थापाले नेतृत्व परिवर्तनसम्मको एजेण्डा अघि सारिसकेका छन् ।
देउवाकै कारणले गत वर्ष भएको निर्वाचनको समीक्षा, गठबन्धन बन्ने र भत्कने परिदृश्यलगायतका धेरै विषयमा देउवाले केन्द्रीय समितिको बैठकमा जवाफ दिनुपर्नेछ । तर, देउवालाई सहज छैन ।
नेतृत्वमाथि महामन्त्री थापाले दबाब बढाउन खोज्दा इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला रणनीतिक रुपमा पछिल्लो समय मौन बसेका छन् । यद्यपि, अहिले कांग्रेस पनि सरकारमा छ ।
बैठकमा विशेषतः गत वर्ष भएका तीनै तहका निर्वाचन, राष्ट्रपति निर्वाचन, गठबन्धनलगायत समसायिक विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन् ।
देउवाले बैठकलाई समसामयिक विषयमा केन्द्रित गराएर टुंग्याउने तयारी गरे पनि महामन्त्री थापा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणदेखि अन्य भ्रष्टाचारका विषयमा पार्टीका नेताहरु जोडिएको विषयलाई पनि बैठकमा जबरजस्त बनाउनमा व्यस्त छन् ।
सरकारले एकपछि अर्को गर्दै भ्रष्टाचारको फाइल खोल्दा ती मुद्दामा कांग्रेसका शीर्ष नेताहरु जोडिएका छन् । त्यसप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उत्साहित देखिँदा कांग्रेस नेतृत्व सन्तुष्ट छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवा निकटका बालकृष्ण खाण पुर्पक्षका लागि थुनामा छन् । उनी पक्राउ परेलगत्तै इतर पक्षले खाणलाई निलम्बन गर्न उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन र शर्मासहितका नेताहरु उभिएका थिए ।
अहिले केन्द्रीय समितिको बैठकमा पनि यो विषय नउठोस् भन्ने शीर्ष तहबाटै सहमति गराउन प्रयत्न गरिरहेका छन् । यो प्रकरणको अनुसन्धान अघि बढ्दै जाँदा देउवापत्नी आरजु राणा पनि तानिसक्नेमा देउवा सचेत छन् ।

बैठकको एजेण्डा नै नबनेपछि विभिन्न प्रकरणमा नाम मुछिएका नेताहरुबारे बैठकमा कुरा उठ्नसक्ने कांग्रेस नेता प्रदीप पौडेल बताउँछन् ।
उनले भने, ‘भ्रष्टाचार या अन्य विषयमा नाम जोडिएका व्यक्तिहरुको विषयमा बैठकको एजेण्डा नै नबने पनि केन्द्रीय सदस्यहरुलाई आफ्नो कुरा राख्ने छुट छ । त्यहाँ सबै विषयमा कुरा उठ्नसक्छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुलाई पैसा बुझाएको भनिएको अडिओ मेल खाएपछि देउवा हच्किएका संलग्न सन्देश शर्माले छन् । आरजू आफैंले परीक्षणका लागि प्रहरीमा उजुरी दिएपछि छानबि गर्दा संलग्न मुख्य गिरोहको आवाज रहेको पुष्टि भइसकेको छ ।
यस्तै देउवा निकट अर्का नेता पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका छन् । सरकारले भूटानी शरणार्थीपछि यो प्रकरणको अहिले छानबिन अघि बढाइरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि गच्छदार २०७६ सालमा सांसद पदबाट निलम्बनमा परेका थिए । तर, देउवाले गएको निर्वाचनमा सुनसरी ३ को टिकट उनैलाई दिएका थिए । तर, पराजित भए ।
गच्छदार पार्टीको १४ औं महाधिवेशन पनि देउवा प्यानलबाटै उपसभापतिमा लडेका थिए । उपसभापतिमा पराजित गच्छदारलाई देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।
यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङ भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।
भ्रष्टाचार काण्डमा दोषी ठहर भएपछि सांसद पदबाट निलम्बित भए पनि गुरुङलाई कांग्रेसले केन्द्रीय समिति सदस्यबाट निलम्बन गरेको छैन । संयोग नै मान्नुपर्छ अहिलेसम्म भ्रष्टाचारको आरोप लागेका नेताहरु देउवा निकटकै देखिएका छन् ।



