गोकुलेश्वर । कपिलवस्तु बुद्धभूमि १ कपासीकी गीता भुसाल छोराको भविष्य उज्यालो खोज्दै २५ दिन अगाडि रोजगारीका लागि दुबई उडिन् ।
उनका दुई छोरा ११ वर्षे दीपक र ९ वर्षे प्रदीपलाई हात हल्लाएर रुँदै आमालाई बिदा गरे ।
घर परिवारको गर्जो टार्ने र केही भए पनि दुई छोराहरूको मुहारमा खुसी बाँड्ने योजनाका साथ गीताले दुबईको गन्तव्य रोजिन् ।
गीतालाई परिस्थितिले नै त्यस्तै बनिदिएको थियो। वैशाख ७ गते श्रीमानको मृत्यु भएपछि दुई छोराहरूको शिक्षा दीक्षा, लालनपालन सबै गीताका काँधमा आइपुगेको थियो । भोको पेट भर्न नसक्ने देशमा देशको माया मात्र मनमा रहेर नहुने रहेछ। छोराहरूलाई केही सुख पसिनामा साट्न गीता दुबई पुगिन् ।
श्रीमान बितेको वियोगमै दुबई पुगेकी गीतामाथि अहिले अर्को ठूलो बज्रपात परेको छ । जसका लागि खुसी किन्न र सुःख खोज्न दुबई पुगेकी थिइन् अब ती ‘मुना’हरू उनका साथमा हुने छैनन् ।
नाबालक दुई छोराहरू दीपक र प्रदीपको मृत्यु भएको खबर मंगलबार बिहानै उनले सुन्नुपर्यो ।
‘मान्छेलाई कस्तो नियति भोग्नुपर्छ पत्तो छैन। वैशाखमा श्रीमान् गुमाइन। श्रीमान् गुमाएपछि छोराको सुःखका लागि गीता विदेश पुगिन । यता छोराहरूको निधन भयो। हामी पनि निकै स्तब्ध भएका छौँ’, बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर बस्नेतले भने ।
श्रीमान् बाबुराम भुसालको मृत्यु भएपछि गीताले बृद्ध सासु र ससुराको साथमा दुई सन्तान छाडेर दुबई गएकी गीताले तीन महिनामा परिवारका तीन सदस्य गुमाउनुपरेको छ ।
दुई दाजुभाइ दीपक र प्रदीप कपिलवस्तुस्थित गोरूसिंगेको पारिजात बोर्डिङ स्कुलमा अध्ययन गर्थे। सोमबार पनि उनी विद्यालयबाट पढेर घर गए। खाना खाएपछि हजुरआमाका साथ दुई दाजुभाइ सुते।

एकतले घरको पलङमा हजुरबुवा सुते भने हजुरआमा र नातिहरूसहित भुईंमा सुतिन्। राति एक्कासि दाजुभाइ नै पेट दुखेको भन्दै बिउँझिए। हजुरबुवा, हजुरआमाले सामान्य होला भन्ने ठाने। तर दाजुभाइको दुखाइ बढ्दै थियो।
दुखाइ बढ्दै जाने र सास फेर्न पनि गाह्रो हुँदै गएपछि वृद्ध दम्पत्तीले झारफुक गराउन भन्दै छिमेकको घरमा लगे । प्रदीप र दीपकको अवस्था झन बिग्रिँदै थियो ।
दुखाइ असह्य भएपछि मात्र बिहान ३ बजे उनीहरूलाई गोरूसिंगेकै बुद्ध पोलिक्लिनिकमा पुर्याइयो । तर त्यहाँ पुग्दा दीपक र प्रदीप अचेत भइसकेका थिए ।
उनीहरूको अवस्था देख्न साथ त्यहाँबाट बुटवल लैजान सुझाव दिए। दुवैलाई विषालु सर्पले टोकेको हुन सक्ने भन्दै उपचारका लागि बुटवल जान सुझाव दिएपछि उनीहरू बुटवल हिँडे । तर दाजुभाइको अवस्था बुटवल आउँदा धेरै बिग्रिसकेको थियो। बुटवल आएको केही घण्टामै उनीहरूले प्राण त्यागे ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका इमर्जेन्सी इन्चार्ज शिव कुँवरले अस्पतालमा ल्याउँदा नै अवस्था जटिल बनेको र आउन साथ दुवै बालकहरूको मृत्यु भएको बताए । सर्पले डसेकै कारण दुवैको मृत्यु भएको उनले बताए ।
अहिले कपिलवस्तु बुद्धभूमि १ कपासीको सिंगो गाउँ शोकमा डुबेको छ। सर्पले टोकेको समयमै थाहा नपाएकै कारण दुवैको ज्यान गएको वडाध्यक्ष बस्नेत बताउँछन्। ‘पेट दुख्ने, घाँटी दुख्ने भएछ। पछि शरीरभरि दुखाइ भएछ । वृद्ध हजुरबुवा आमालाई सर्पले टोकेर यस्तो भएको हो भन्ने थाहा नै पाउनुभएन। यदि सर्पले टोकेको त्यही बेलै थाहा भएको भए उनीहरू बच्न सक्थे’, बस्नेतले भने । सर्पले टोकेका ती दाजुभाइले पनि पत्तो पाएनन्। एक्कासि दुखेको मात्र थाहा पाए । तर दुखाइ के कारणले भयो कसैले पत्तो नपाएकै कारण ज्यान गुमाउनुपरेको वडाध्यक्ष बस्नेत बताउँछन् ।
दुई छोराको निधन भएको खबर पछि गीता घर फर्कँदै छिन्। वडाअध्यक्ष बस्नेतका अनुसार गीता आजै (बुधबार) घर आउँदैछिन् । बालकहरूको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।
यता नातिहरूसँगै सुतेकी हजुरआमा बसन्ता भुसाललाई भने सर्पले टोकेको हुन सक्ने आशंकामा सर्पदंश उपचार केन्द्र कपिलवस्तुमा निगरानीका लागि राखिएको छ। केन्द्रका अनुसार उनमा कुनै लक्षण भने देखिएको छैन ।
जिल्लामा बर्खा लागेसँगै सर्पको बिगबिगी बढिहरेको छ। जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा सर्पदंशको उपचार केन्द्र छ ।



