गोकुलेश्वर । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अपरिचित नम्बरबाट अचानक फोन आयो । उनले फोन उठाए लगत्तै पैसा माग्दै धम्की आयो’ ‘२० करोड दिनु नत्र तेरो हत्याको योजना बनाइसकेका छौ, कात्रो राखेपनि हुन्छ ।’
पैसा मागेसँगै हत्या नै गर्ने धम्की आएपछि उनले प्रहरीलाई जानकारी गराएका थिए । कल आएको नम्बरको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अगाडि बढाएको छ ।

धम्कीको कल आइरहेकै थियो । प्रसाईँले फोन उठाइरहेकै थिए । २० करोडबाट सुरु भएको बार्गेनिङ पाँच करोडमा पुगेर सहमति भयो ।
प्रहरीले कलको आधारमा लोकेसन हेर्दा धम्क्याउने व्यक्ति काठमाडौँमै रहेको खुलेको छ । प्रहरीले खोजी जारि राखेको छ । पाँच करोडमा सहमति भएपछि महाराजगन्जको कतार भिसा सेन्टर अगाडि बोलाएका समेत थिए ।
प्रसाईँ हैन त्यहाँ ब्युरोको टोली पुग्यो। प्रहरीले खोटाङको रावाबेसी गाउँपालिका–१ का ४२ वर्षीय रमेश गुरुङलाई पक्राउ गरिसकेको छ ।
वैदेशिक रोजगारीमा गएर फर्किएका उनले प्रसाईँसँग पैसा भएको थाहा पाएर धम्क्याएर पैसा लिन फोन गरेको दाबी गरेका छन् । ब्यूरोस्रोतका अनुसार तत्काल धम्क्याएर पैसा असुल्ने योजना देखिएको छ । उनी एक्लैले धम्क्याएका हुन् या अन्य पनि छन् खुलेको छैन ।
मङ्गलवार बिहान गुरुङ पक्राउ परेपछि प्रसाईँ ब्युरोमा पुगेर जाहेरी दिएका थिए ।



