गोकुलेश्वर। दार्चुलाको अपि हिमाल गाउँपालिका, नौगाढ गाउँपालिका, दुहु गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका र महाकाली नगरपालिकाले घरदैलो कार्यक्रममा सञ्चालनमा ल्याएका छन्।
स्वास्थ्यकर्मीले घरघरमा आएर सेवा दिँदा हर्ष लागेको छ, दुहु गाउँपालिकाकी स्थानीय बासिन्दा हेमन्ती मल्ल बमले बताइन्। कोरोनाभाइरसका कारण गर्भवती महिला तथा वृद्धवृद्धाले स्वास्थ्य संस्था पुगेर आइरन चक्की तथा दम, खोकीको औषधि समयमै लग्न नपाएको बताइएको छ ।
हामीले घरमै लगेर दिँदा उनीहरूले औषधि पनि पाए कोरोनाभाइरस भएका बेला उनीहरू घण्टौँ हिँडेर आउन पनि परेन, घरदैलो कार्यक्रम अन्तर्गत खटिएका नौगाड गाउँपालिका वडा नं ३ खार स्वास्थ्य चौकीका प्रमुख गोविद सिंह ठगुन्नाले बताए।

जनप्रतिनिधिसँगै घरदैलोमा रहेका स्वास्थ्यकर्मीले कोरोनाभाइरससँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको जाँच तथा सामान्य ज्वरो, रुघाखोकी लागेका छन् भने उनीहरूलाई औषधि वितरण गरेको उनले बताए।
कोरोनाभाइरसको शङ्का लागे पीसीआरका लागि स्वाब सङ्कलन पनि स्वास्थ्यकर्मीले गरेका छन्। घरदैलो कार्यक्रमको उद्देश्य कोरोनाभाइरस हो कि अर्कै किसिमको भाइरल ज्वरो भन्ने निदान गर्न खोज्ने र आवश्यक पर्नेलाई एन्टिजन तथा पीसीआर परीक्षण गर्ने रहेको महाकाली नगरपालिकाका प्रवक्ता तथा वडा नं ४ का वडा अध्यक्ष पुष्करराज जोशीले बताए।
उनले भने, जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्थाहरूमा कोभिड बिरामीको उपचार भइरहेको छ। अहिले अस्पताल जानु हुँदैन भनेर कतिपय स्थानीय बासिन्दा घरमै बसिरहेको अवस्था छ। रोगले च्याप्यो भने मात्रै अस्पताल आउने गरेकाले यसबारे समयमै परामर्श तथा सेवा दिन र भलाकुसारी गर्न सकियोस् भनेर घरदैलो अभियान गरेका हौँ।
जनप्रतिनिधिहरू घरदैलो कार्यक्रममा जाँदा उनीहरू स्वयं जोखिममा पर्न सक्छन्। उनीहरू एकघरदेखि अर्को जाँदा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न सकेनन् भने त्यसले अरू सर्वसाधारणलाई पनि जोखिममा पार्न सक्ने चिकित्सकहरू बताउँछन्।
जिल्ला अस्पताल दार्चुलाका डा. आदर्श लिम्बु भन्छन्, पीसीआर परीक्षण नेगेटिभ भएका, स्वास्थ्यको मापदण्डहरू पालना गरेर स्वास्थ्यकर्मीहरूले गाउँ गाउँ गएर को कस्ता बिरामी छन् भन्ने खोजी गर्नु राम्रो कुरा नै हो। उनले थपे, अहिलेको समयमा हामी सामाजिक दूरीको कुरा गरिरहेका छौँ। यस्तो बेलामा सङ्क्रमण रोक्न आवश्यक मापदण्ड पालना नगरी घर दैलो कार्यक्रम गर्नु पनि जोखिमपूर्ण हुन सक्छ।



