गोकुलेश्वर । चर्चित डान्सर ३० वर्षे सुशान्त खत्री शुक्रबार राति रुँदै फेसबुक लाइभमा आए । यति मात्र होइन, उनले आफू आत्महत्या गर्ने निर्णयमा पुगेकोसमेत बताए ।
अन्तिम लाइभ भन्दै उनले महिनौंयता आफू एन्जाइटी, डिप्रेसन झेलिरहेको बताएका छन् । उनी युवा पुस्तामा लोकप्रिय सेलिब्रेटी हुन् । आजै मात्र मन पर्ने एक कलाकारले आत्महत्या गरेको भन्दै आफू पनि सोही निर्णयमा पुगेको सुशान्तले बताएका छन् । ६ महिनायता फेसबुकमा उनले निराशाजनक पोस्टहरू शेयर गरिरहेका थिए ।
फेसबुकमा उनका १६ लाखभन्दा बढी फलोअर्स छन् । केही घण्टाअघि मात्र उनले आफ्नो फेसबुक स्टोरीमा नेपालले आज एक कलाकार गुमाएको र चाँडै अर्को कलाकार गुमाउने लेखेका थिए ।

मध्यराति फेसबुक लाइभमा आएका उनले आजबाट आफ्नो गिन्ती सुरु भएको भन्दै चाँडै खबर आउने बताए । ’मेहनत गरेर सबै कुरा कमाएँ जीवनमा । सबैलाई खुसी राख्ने कोसिस गरेँ । तर मनबाट खुसी कहिले पाइनँ । मान्छेहरू हजार वटा सही गरेको देख्दैनन्, एउटा गल्ती गरेको देख्न सक्दैनन्’, उनी भन्दै थिए ।
६ महिनादेखि आफूलाई असाध्यै गाह्रो भएको उनले बताएका छन् । ’धेरै चाँडो तपाईंहरूले मलाई पनि गुमाउनु हुने छ । आफ्नै देशमा आएर मर्ने छु’, लाइभमा उनले रुँदै भने । अहिले उनी भारतमा छन् ।
दुई÷तीन दिनपछि नेपाल आउने पनि उनले बताएका छन् । सुशान्तले इन्जाइटी र डिप्रेसनलाई मजाकमा नलिन भनेका छन् । ’धेरै जनाले सुसाइड गरिसकेका छन् नेपालमा । सबैलाई साथ दिऔँ । तपाईंहरूलाई लाग्दो हो, यति चर्चित मान्छेले के भनेको होला भनेर । तर एन्जाइटी डिप्रेसन भनेको साह्रै ठूलो रोग रहेछ साथीहरू । तपाईंले जतिसुकै धेरै पैसा कमाउनु, यो रोग साह्रै कठिन रहेछ । मेरो कारणले मेरो आमाबुबाले धेरै दुःख पाए । मेरा साथीहरू मसित टाढा भएका छन्’, सुशान्तले भनेका छन् ।
डिप्रेसन निको पार्न भारत पुगे पनि कुनै सुधार नभएको उनले बताए । ’सबैलाई लाग्दो हो, यो सेलिब्रेटी हो, लाइफ बिन्दास छ, क्लबतिर जान्छ, हल्लिन्छ । तर मनको कुरा कसैले बुझ्दैन’, सुशान्तले भक्कानिँदै भनेका छन् ।



