गोकुलेश्वर । आफूलाई प्रधानमन्त्री बनाउन नेपालमा रहेका भारतीय नागरिक पटक–पटक भारतको दिल्ली गरेको सार्वजनिक अभिव्यक्तिका कारण अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्कटमा छन् ।
सोमबार उनले किताब विमोचनमा भनेका थिए’
नेपाल भारत सम्बन्धलाई नागरिकको सम्बन्ध विस्तारमा प्रितमको योगदान विशिष्ट छ । यातायात सामाजिक क्षेत्र र शिक्षामा मात्र हैन उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ ।
मलाई एक पटक प्रधानमन्त्री बनाउन उहाँले धेरै मिहिनेत गर्नुभयो । दिल्ली पनि जानु भयो । काठमाडौँका साथीहरूलाई नेताहरूसँग पनि छलफल गर्नुभयो ।
शान्ति प्रक्रियामा आएदेखि नै म उहाँसँग नजिक रहेर काम गरेको छु । नजिक भएर चिन्ने बुझ्ने र निकट भएँ । उहाँले मेरो छोरीको क्यान्सर उपचारमा निकै ठुलो सहयोग गर्नुभएको छ ।
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री संसद्को बहुमतले बनाउने हो । प्रचण्ड प्रतिनिधि सभामा रहेका दलका बहुमत सांसदहरूको समर्थनमै प्रधानमन्त्री बनेका थिए । तर प्रधानमन्त्री बन्न भारतको प्रसङ्ग आएसँगै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध सुरु गर्यो ।
एमालेले बुधवार प्रतिनिधि सभा र राष्ट्रिय सभा चल्न दिएन । बिहीबार पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्यो ।

एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले सांसदको गरिमा उलङ्घन गरेको भन्दै राजीनामा मागिरहेको छ ।
बुधवारै आकस्मिक रूपमा बसेको एमालेको संसदीय दलको बैठकले न्यूनतम सर्त राजीनामा भएको बताइसकेको छ ।
आफ्नो अभिव्यक्तिलाई लिएर एमालेले कडा व्यवहार गरेपछि फसेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम भारतको दिल्ली गएको कुरा आफ्नो नभई प्रितमको कुरा भएको दाबी गरिरहेका छन् ।
यति मात्रै हैन बिहीबार प्रधानमन्त्रीको तर्फबाट प्रेस नोट जारी गरेर ’अभिव्यक्ति अपव्याख्या गरेर राजनीतिक अभीष्ट पूरा गर्न खोजेको दाबी गरिएको छ ।
बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यद्वारा जारी प्रेस नोटमा नेपालका शुभेच्छुक सिंहले अनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईँजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गरे पनि त्यसलाई घुमाएर अतिशयोक्तिपूर्ण राजनीतीकरण गर्न खोजिएको दाबी गरियो ।
उनले जे दाबी गरे पनि उनले पहिलो दिन प्रितम सिंहले एक पटक आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको प्रस्टै बोलेका थिए ।
तर सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले अहिलेको विषय प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषय नै नभएको तर्क गरेकी छिन् । बिहीबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै उनले भनिन् ‘एउटा कार्यक्रममा गएर बोलेको कुरालाई लिएर प्रधानमन्त्रीले राजीनामा दिनुहुँदैन । यसलाई धेरै उचालेर प्रधानमन्त्रीलाई राजीनामा दिलाउन सकिँदैन ।’
एमालेले सदन मात्रै हैन सडकबाट समेत प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै बिहीबार विरोध प्रदर्शन सुरु गरेको छ ।
कुन कार्यक्रममा के बोल्ने अनि के नबोल्नेमा कमजोर देखिन्छन् प्रचण्ड। त्यसैले त सार्वजनिक कार्यक्रमहरूमा उनले बोल्ने गरेका अभिव्यक्तिले उनी पटक पटक आफैँ फस्ने गरेका छन् । कुनै कुनै भनाई बोलेकै हैन भनेर झुट बोलेर माफी पनि पाएका छन् । तर केही भनाई भने अदालतसम्म पनि पुगेका छन् ।



