गोकुलेश्वर । बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ०९ ग्वाल्लेकमा बालविवाहका घटना बढ्दै गएका छन् । विशेष गरि दलित सामुदायमा बालविवाहका घटना ह्वात्तै बढेका हुन् । उमेर नपुग्दै भागेर जाने वा घरकाले सुटुक्क बिहे गर्ने गरेको त्यहाँका स्थानियको भनाई छ । दलित समुदायमा बालविवाहका घटनाले झनै उग्र रुप लिन थालेपछि दशरथ चन्द नगरपालिका वडा नम्बर ०९ ले बिशेश कार्यक्रमको आयोजना गरेको छ । दलित समुदायमा बालविवाह न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । आज वडाले एक सुचना जारी गर्दै भोलि असार १६ गते वडा कार्यलयमा बिहान ११ बजेबाट अन्तरक्रिया कार्यक्रम सुरु गर्ने बताएको छ ।

दलित समुदायका किशोर किशोरीसंग वडाले अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा १५ देखि २० बर्ष उमेर समुहका किशोर किशोरिलाई सहभागी हुन आग्रह गरिएको छ । दलित समुदायमा हुने गरेका बालविवाहका मुद्दाहरु वडामा मात्रै सिमित नभई जिल्ला प्रशासन कार्यलयसम्म समेत पुग्ने गरेका छन । बालविवाह कम गर्नका लागि वडाले दलित समुदायका किशोर किशोरिलाई पटकपटक अभिमुखिकरण तालिम दिने गरेको समेत बताएको छ ।
घरमा आमाबुबाले बालबच्चाको वास्ता कम गर्ने, बिधालयले निगरानी कम राख्ने र अभिभावकले बालबच्चाको आवश्यकता पूरा गर्न नसकेका कारण ग्वाल्लेकमा बालविवाहका घटना बढेका हुन् । दशरथचन्द नगरपालिकामा बालविवाहका घटना कम गर्न पालिका लगायत विभिन्न संघ सस्थाले समेत जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएका छन् । यस बिषयमा महिला तथा बालबालिका कार्यलयले पनि बाल चेतना सम्बन्धी कार्यक्रम गर्दै आएको बताएकोे छ ।



