गोकुलेश्वर । अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको जानकारी दिएका छन । मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन् ।

भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताएका छन । सरकारले भारतबाट उन्नत नस्लका मुर्रा राँगा ल्याउन २०७३ सालबाटै पहल सुरू गरेको थियो । यी राँगाबाट रैथाने भैंसीको नश्ल सुधार हुने हुँदा सरकारले सात वर्षदेखि मुर्रा राँगा ल्याउन भारतसँग पहल गरिरहेको थियो । सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा उन्नत नश्लका मुर्रा राँगा दिने जनाएको हो ।
मुर्रा राँगाबाट नश्ल सुधार भएका भैंसीले रैथाने भैंसीको तुलनामा झन्डै तीन गुणा बढी दूध दिने ढकाल बताउँछन् । अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजनन क्षमता रहेको भनिएको छ । ती राँगाबाट वार्षिक २ लाख वीर्य किसानको गोठगोठमा पु¥याउने विभागको योजना छ ।



